६० प्रतिशत वाचा पूरा गरिसक्यौँ

गीता सत्याल, उपप्रमुख ललितपुर महानगरपालिका

जनप्रतिनिधि भएर आउँदा जति काम गर्छु भन्ने वाचा गरेका थियौँ सो अनुरूप शतप्रतिशत गर्नभने सकेका छैनौँ । किनभने यतिका वर्षसम्म जनप्रतिनिधिविहीन अवस्थाका कार्यालय जनप्रतिनिधिले सम्माल्दा र त्यहाँको नियम बुझ्नै एक वर्ष बित्यो । त्यसले गर्दा चाहे अनुरूप काम गर्न सकेका छैनाँै । यसको मतलब यो पनि होइन कि हामीले कुनै काम पूरा गर्न सकेनौँ ।
हामीले जनप्रतिनिधि भएर यस कार्यालय सम्हाल्दा वाचा गरेका कामहरूमध्ये ६० प्रतिशत काम सम्पन्न गरिसकेका छौँ । तर, त्यसबाट सन्तुष्ट भने छैनौँ । वाचा गरेका मध्ये कस्तो कामलाई प्रथमिकता दिनेभन्दा पनि जनताको आवश्यकता के हो ? आवश्यकता पहिचान गरी सो अनुरूप अगाडि बढिरहेका छौँ । जनताका आशा विश्वासलाई कदर गर्दै विकास निर्माण, खानेपानी, सडकलाइट, सम्पदा पुनर्निर्माणजस्ता बिवायमा केन्द्रित भई काम गरिरहेका छौँ ।

हुन त उपत्यकाको परिवेशमा पहिलो आवश्यकता पानीलाई लिने गरिन्छ । हामीले ललितपुर महानगरपालिकालाई पानी पु¥याउन सकेका छैनाँै । त्यसबाहेक उपत्यकामा बसोवास गर्ने नागरिकको अर्काे आवश्यकता भनेको धुलो, हिलोबाट मुक्ति पाउनु हो । हामीले चुनावमा पनि ललितपुर महानगरपालिकालाई धुलोमुक्त महानगरपालिका बनाउने वाचा गरेका थियौँ । सो वाचा पूरा गर्नका लागि हालसम्म जति काम गरेका छौँ । त्यो राम्रो र प्रभावकारी काम नै गरेको महसुस गरेका छाँै । हामी जनप्रतिनिधि भएर आउँदाको अवस्था कस्तो थियो र अहिले कस्तो बनायौँ । यसमा धेरै फरकपन महसुस भएको छ ।

चक्रपथका बारेका चाइनिज कन्ट्रयाक्टरसँग बसेर धेरैपटक कसरी यसलाई व्यवस्थापन गर्न सकिन्छ । कति छिटो गर्न सकिन्छ भनेर छलफल गरेका थियौँ । वास्तवमा भन्नुपर्दा बालकुमारी चोकदेखि बल्खुचोकसम्मको चक्रपथको निर्माण कार्य सबैभन्दा अगाडि नै सकिएको थियो । त्यसपछि अहिले मेलम्ची खानेपानी आयोजनाले खनेकाले धुलो, खाल्डाखुल्डी बनाइएको छ । त्यसमा पनि उपत्यका खानेपानी लिमिटेडसँग बसेर सल्लाह गरेर अगाडि बढ्दै गएका छौँ । नगरपालिकाले गर्ने ब्ल्याकटपहरूमा पनि ४० एमएमको सुरुआत गरिसकेका छौँ । यसवर्ष १२ दशमलव २ किलोमिटर सडकको टेन्डरको प्रक्रियाबाट अगाडि बढ्ने प्रक्रियामा छौँ । ललितपुर महानगरपालिकालाई वल्र्डक्र्याफ्ट सिट घोषण गर्ने भनेका थियौँ । त्यसलाई पनि पूरा गरिसकेका छौँ । महानगर पार्क एउटा नमुनाको रूपमा निर्माण गरेका छौँ । पिमवाल पोखरी पनि निर्माण सम्पन्न गरसकेका छौँ । सो पोखरीको कुरा गर्नुपर्दा रानीपोखरीभन्दा दुई सय वर्ष पुरानो इतिहास रहेको पाइन्छ । स्मार्ट स्टेटलाइटको कुरा गरिरहेका छाँै । त्यसको पनि टेन्डरमा गइसकेको छ । काम सुरु हुने प्रक्रियामा रहेको छ । सुरु भइनसकेकाले देख्ने काम भने नभएको हो ।

करिबकरिब कुपन्डोल पुलदेखि लगनखेलसम्म लगनखेलदेखि धापाखेलसम्म बुग्मति र भित्रको बाटोमा करिब सात करोड बराबरको स्मार्ट स्टेटलाइट कुलमान घिसिङसँग समन्यय गरेर काम गरिरहेका छौँ । अर्काे भनेको ललितपुर महानगरपालिकामा ग्रिनरीको कन्सेप्ट अगाडि बढाएका थियाँै । त्यसमा पनि काम गरिरहेका छौँ । ललितपुरका धेरै स्थानमा सो काम पुरा गरिसकेका छौँ । वर्षादको समयमा वृक्षरोपण र हिउँदमा फोहोर मैला व्यवस्थापन महाशाखाले त्यसलाई पानी राख्ने काम गर्दै आएको छ ।

साथै ढल व्यवस्थापनको काममा आवश्यकता पहिचान गरी अत्यावश्यक ठाउँमा ढलको व्यवस्थापन, बाटो व्यवस्थापनजस्ता कार्यहरू गर्दै आएको छौँ । जनतालाई सहजीकरणका लागि वडा कार्यालयबाटै कर तिर्ने व्यवस्था, नक्सापासका कामहरू गर्दै आएका छौँ । एक हजार वर्ग स्क्वायरसम्म वडाबाटै हुने र सोभन्दा माथिको लागि महानगर आउनुपर्ने व्यवस्था गरेका छौँ ।

समृद्ध ललितपुरको कल्पनासहित महानगरको कार्यभार सम्हाल्दै गर्दा देखेका सपना अधिकांशको काम भइसकेको छ । सम्पदाको क्षेत्रमा ८० प्रतिशत काम सम्पन्न गरिसकेका छौँ । समृद्ध ललितपुर बनाउने अभियान हिजो जुन परम्परागत रूपमा मानिँदै आएका सांस्कृतिक परम्परालाई जगेर्ना गर्ने काम भइरहेको छ ।

२४ वर्षदेखि नमनाइएको पायो जात्रा महानगरले यसै वर्षदेखि मनायो । टोलटोलका सीपलाई कसरी व्यवस्थापन गर्न सकिन्छ । र तिनीहरूले उत्पादन गरेको सामग्री व्यवस्थित तरिकाले कसरी बजारसम्म पु¥याउन सकिन्छ, भन्नका लागि कमिटी नै बनाएर अगाडि बढेका छौँ । सो कमिटीले कुन–कुन टोलबाट के–के उत्पादन हुन्छ भन्ने छुट्याएर तिनीहरूको आर्थिक स्तर उकास्न तालिमको ब्यवस्था गर्नेतर्फ लागेको छ ।

आफ्को कार्यकाल सकिँदा ललितपुर महानगरपालिकाको मुहार फेरेर जाने चाहना छ । जति कुरा बोलेका छाँै, सो अनुरूपको काम गर्ने र जनताले विश्वास गर्न सक्ने पात्र बन्ने इच्छा छ । सम्पदा पुनर्निर्माण हाल ८० प्रतिशत सम्पन्न भएको छ । कार्यकाल सकिँदा सम्पूर्ण काम सक्नेछाँै । सडकको कुरा गर्नुपर्दा अधिकांश सडकहरू अर्थात ८५ प्रतिशत सडक कालोपत्रे हुनेछ । ८० प्रतिशत ढल व्यवस्थापन गरिसक्नेछाँै ।

खानेपानीको कुरामा बोल्न सक्ने अवस्था छैन । किनभने खानेपानीको स्रोत भनेको मेलम्ची हो । मेलम्ची नआउँदासम्म यस्तै बन्छ भन्न सक्ने अवस्था भने छैन । खानेपानीको प्रतिबद्धता गर्न सकने अवस्था छैन । बोलेका कुरा पूरा गर्न सक्ने मात्र बोल्नुपर्छ । त्यसैले खानेपानीको विषयमा बोल्दैनौँ । अर्काेतर्फ ललितपुर महानगरपालिकाले ५० लाख, गोदावरी नगरपालिकाले २५ लाख, काठमाडांै खानेपानी आयोजनाले ५० लाख गरी टीकाभैरबबाट आएको पानीको स्रोत वृद्धि गर्ने काम गरिरहेका छौँ । त्यसले पनि ललितपुरको खानेपानीको आवश्यकता केही हदसम्म सहयोग गर्नेछ । आफ्नो कार्यकाल सकिँदा ललितपुरलाई हरियाली नगरी विकास गरेर छोड्नेछौँ ।

आर्थिक पक्षको कुरा गर्नुपर्दा सम्पदा पुनर्निर्माण पूर्णरूपले गरेसँगै पर्यटकको आकर्षणको केन्द्र बन्न सक्छ । अहिले एक÷दुई घण्टा बिताउने ललितपुरमा दुई÷चार दिन बिताउन सक्ने बनाएको खण्डमा ललितपुरका जनताको जीवनस्तर उकास्न सकिन्छ । कलाकार उत्पादन, सामग्री बेचबिखन साथै महिला बालबालिका सशक्तीकरण सशक्तरूपले अगाडि बढाउनेछौँ ।

नेपालको संविधान–२०७२ ले राज्यका संरचनालाई तीन तहमा विभाजन ग¥यो । संघ, प्रदेश र स्थानीयतहमा । त्यसपछि २२ ओटा अधिकार एकल अधिकार भनेर स्थानीय तहलाई दिइयो । त्यो एकल अधिकार त दियो । सिंहदरवारको अधिकार स्थानीय तहमा आयो त भनियो, तर त्यो अधिकार स्थानीय तहमा आएको महसुस भने गर्न पाएको छैनौँ । सो अधिकार पूर्णरूपले आएको महसुस भएको छैन ।

शिक्षाकै कुरा गर्नु पर्दा आधारभूत र माध्यमिक तह गरी दुई भागमा विभाजन गरिएको छ र यो स्थानीय तहलाई दिएको छ । तर, संघले फेरि आफ्नै मातहतमा रहने गरी जिल्ला शिक्षा कार्यालय ब्युताउन खोजेजस्तो छ । यस्तो हुँदा क्षेत्राधिकार मिचिन सक्छ । यो संघीयताको कन्सेप्ट होइन ।

स्थानीय सरकारमा न्यायिक समिति आएसँगै जनतामा न्यायको महसुस गर्ने वातावरण सिर्जना भएको छ । यहाँबाट जाँदा कसैको हार र कसैको जित भन्ने कुरा हुँदैन । किनकि न्यायिक समितिले मेलमिलापबाट मुद्दा टुंग्याउने गर्दछ । न्यायिक समितिमा आउने उजुरी साँध सिमाना मिचिएको, मानापाथी भरिपाउँजस्ता मुद्दा आउने गरेको छ । यस अर्थिक वर्षमा १ सय ५५ वटा मुद्दा दर्ता भएका थिए । जसमध्ये ३६ बहसबाट निर्णय भयो भने १९ वटा मेलमिलापबाट टुंग्याउने काम ग¥यौँ ।
(सौर्यकर्मी सञ्जिता आचार्यसँगको कुराकानीमा आधारित)

प्रतिक्रिया