गेलले संन्यास लिने

एजेन्सी, बर्बुडा । वेस्ट इन्डिङ भेट्रान क्रिकेटर क्रिस गेलले आगामी विश्वकपपछि एकदिवसीय क्रिकेटबाट संन्यास लिने भएका छन् । गेलले आइतबार यसैवर्ष इंल्यान्ड र वेल्सले संयुक्त रूपमा आयोजना गर्ने विश्वकप पश्चात सन्न्यास लिने घोषणा गरेका हुन् ।

बिग हिटर ओपनिङ ब्याट्सम्यान गेलले २ सय ४८ एक दिवसीय खेलमा ९ हजार ७ सय २७ रन बनाएका छन् । ३९ वर्षे गेलले गत जुलाईमा बंगलादेश विरुद्धको खेलपछि एकदिवसीय क्रिकेट खेलेका छैनन् । यद्यपि, आगामी बुधबार घरेलु मैदानमा इंल्यान्डविरुद्ध हुने एकदिवसीय खेलमा भने गेलले खेल्नेछन् ।

‘युनिभर्स बोस’ उपमा पाएका गेलले वेस्ट इन्डिजका लागि २० खेलेपछि एकदिवसीय क्रिकेटबाट बिदा लिने निर्णय गरेका हुन् । गेलले सन् १९९९ मा भारतविरुद्ध भएको खेलबाट एकदिवसीय क्रिकेटमा डेब्यू गरेका थिए । अब युवा क्रिकेटरलाई अवसर दिनुपर्ने निर्णय लिँदै आफू बाहिरिनुपर्ने गेलले उल्लेख गरेका छन् ।

‘सबैजना सदैव क्रिकेटमा निकै राम्रो ब्याट्सम्यान खोजिरहेका हुन्छन्,’ क्रिकइन्फोसँग गेलले भने,‘ विश्वको त्यो राम्रो पनि मै हुँ । पक्कै अझै पनि म ‘युनिभर्स बोस’ हुँ । यसलाई म कुनै हालतमा गुमाउन चाहन्नँ । यसलाई जीवनभर जोगाइराख्नेछु ।

वेस्टइन्डिजका महान् ब्याट्सम्यान ब्रयान लाराले एकदिवसीयमा बनाएको रनबाट अझै पनि गेल ६ सय ७७ रनले पछाडि छन् । यद्यपि, उनले आगामी मे ३० मा सुरु हुने विश्वकपसम्म त्यो रेकर्ड पूरा गर्न पनि सक्नेछन् । वेस्ट इन्डिजले विश्वकपको तेस्रो उपाधिका लागि मे ३१ मा पाकिस्तान विरुद्धको खेलबाट इंल्यान्डको यात्रा सुरु गर्नेछ ।

‘युवा क्रिकेटरले देशका लागि केही गरेको हेर्न चाहन्छु । उनीहरू क्रिकेटमा रमाइरहेका मैदानबाट खुसी भएर हेर्न मेरो चाहना छ,’ गेलले भने । गेलले विश्वकप जितेर युवा क्रिकेटरले आफू बिदाई गर्ने सम्भावना पनि रहेको बताएका छन् । ‘मलाई उनीहरूले मेरा लागि राम्रो गर्छन्,’ गेलले भने, ‘ट्रफी जित्दै मलाई बिदाई गर्न सक्ने क्षमता भएका युवा खेलाडी अझै पनि छन् । जहाँ मेरो पनि उत्तिकै साथ हुनेछ ।

ट्वान्टी–२० क्रिकेटको बादसाह मानिने गेलले पछिल्लो सन् २०१४ देखि पनि टेस्ट खेलेका छैनन् । उनले पछिल्ला खेलहरू बंगलादेश प्रिमियर क्रिकेटमा बिताइरहेका छन् । सन् २०१४ मा वेस्ट इन्डिजलाई ट्वान्टी–२० विश्वकप क्रिकेटको उपाधि दिलाएपछि गेलले लगातार फ्रेन्चाइज क्रिकेट नै खेलिरहेका छन् । ‘म अझै फिट छु ।

मेरो शरीरले साथ दिइरहेका छन् । म यसका लागि भाग्यमानी साबित भएको छु,’ गेलले भने । गेलले पछिल्ला समयमा आफूले तौल घटाएको र सिक्स प्याकका लागि मिहिनेत गरिरहेको बताएका छन् । ‘युवा क्रिकेटरसँग फिल्डिङमा पनि राम्रो गर्न लागि परिरहेको छु । उनीहरूको बिरालोजस्तो तीव्र गतिको फिल्डिङमा रमाइरहेको छु,’ गेलले भने, ‘उनीहरूसँगै बललाई रोक्ने र फिल्डिङ राम्रो गर्ने प्रयासमा छु ।

सन् ११९९ मा डेब्यू गरेपछि गेलले २३ एकदिवसीय शतक बनाउँदा विश्वकपमा चार वर्षअगाडि जिम्बाम्बे विरुद्धको पहिलो दोहोरो शतक पनि बनाएका छन् । उनले बुधबारदेखि बार्बडोसमा इंल्यान्डविरुद्धको पाँच खेलको एकदिवसीय शृंखला सुरु गर्दै छन् । सोही शृंखला गेललाई विश्वकपका लागि वेस्ट इन्डिजको टिममा स्थान बनाउन मद्दतसमेत पुग्नेछ ।

प्रतिक्रिया