समकालीन नेपाली रंगमञ्च

नाटकको सुरुआत भगवान्का पालादेखि नै भएको विश्वास छ । प्रमाणित इतिहासलाई लिने हो भने लिच्छविकालमा नाटकका प्रारूप मात्रै भेटिएको जानकारी इतिहासविद् बताउँछन् । तर, अझै अनुसन्धान गर्नुपर्ने भनाइ पनि उनीहरूको छ । त्यतिबेला बनेका डबली, नृत्यअभिनयका मूर्ति तथा चित्रहरूले त्यसबेला पनि नाट्य गतिविधिहरू भएको अनुमान गर्न सकिन्छ ।

मल्लकालमा त राजामहाराजहरू स्वयं नाटक लेख्ने र खेल्ने गरेका तथ्यहरू रहेका छन् । धार्मिक तथा मनोरञ्जनको रूपमा नाट्य गतिविधहरू सञ्चालनमा आएको देखिन्छ । शाहकाल तथा राणाकालमा छापा माध्यमबाट पनि नाटकहरू प्रकाशनमा आए । मोतिराम भट्ट, शम्भुप्रसाद ढुंगेलले नाटकहरू लेखे । रत्नदास प्रकाश, बेखानारायण महर्जनजस्ता कलाकारहरू उदाए ।

डम्बरशमशेर कोलकाता जाँदा पारसी थिएटरबाट प्रभावित भए । उनले आफ्नै दरबारमा पनि थिएटर बनाउन लगाए । सांस्कृतिक महत्वबाहेक अन्य परम्परामा जनस्तरमा पनि यसको उपयोग भयो तर नाट्य चेतनाले भरिएका कर्महरू सीमित भए । थुप्रै नाटकहरू मञ्चन भए । आमोदप्रमोदका रूपमा दरबारमा नाटक मञ्चन भए । राणाकालीन समयको उत्तर्राद्धमा नाट्य सम्राट बालकृष्ण समको आगमन भयो, जसले नेपाली नाटक परम्परामा आमूल परिवर्तन गरिदियो ।

प्रजातन्त्रपश्चात् एकेडेमी, नाचघरजस्ता सरकारी मातहतमा नाट्यशालाहरू निर्माण भए । त्यसपछि जनताहरूले नाटकको स्वाद पाउनसके । ३० को दशक फलादायी रह्यो । निजीस्तरमा खुलेका सर्वनाम, आरोहण लगायतका नाट्य समूहहरूले हलचल मच्चाइदिए । त्यसपछि राष्ट्रिय ढुकुटीबाट चलेका नाट्य गृह खासै चलमलाएको देखिएन । ०५९ सालमा आरोहणले नाट्य स्कुलको रूपमा गुरुकूल स्थापना गरेर नियमित नाटक मञ्चनको शृंखला सुरु गर्यो ।

यसले नेपाली रंगमञ्चीय परम्परामा कोसे ढुंगाको रूपमा काम ग¥यो । यो समूहले रंगमञ्चमा व्यावसायिक धरातलको स्वरूप स्थापना ग¥यो । परिणामस्वरूप ६० को दशक नाट्य क्षेत्रमा उर्वर रह्यो । राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका नाटक महोत्सवहरू सञ्चालनमा आए । यस कालखण्डमा थुप्रै तालिम प्राप्त रंगकर्मीहरूको प्रवेश भयो । उनीहरूले आफूले विभिन्न देशहरूबाट लिएको ज्ञानलाई उपयोग गर्न थाले । यसले नयाँ नयाँ शैलीहरूको आदानप्रदानमा सहज बनायो । अनि दर्शकहरूलाई पनि नाटकको फरकफरक स्वाद पाउन सम्भव भयो ।

चानचुन साहसले रंगकर्म गरिँदैन । सुखसयलमा रमाउन खोज्नेहरू यस क्षेत्रमा पाइला टेक्नै सक्दैनन् । रंगकर्मको लागि त अभावसँग, दुःखसँग जुझ्न सक्ने क्षमतावान् व्यक्ति चाहिन्छ । धैर्यधारण गरी अनवरत रूपमा अगाडि बढ्न सक्ने आँट चाहिन्छ । आजकल केही युवा रंगकर्मीहरू जोशजाँगर बोकेर अगाडि बढेका छन् । यसलाई निरन्तरता दिनु अपरिहार्य छ । पक्कै पनि यो स्थिति नेपाली रंगमञ्चको अहिलेको यात्रा सुखदायी र ऐतिहासिक हुने विश्वास लिन सकिन्छ ।

माथि भनिसकियो पहिले पहिले सीमित रूपमा नाटक मञ्चन हुन्थे । समय मिलाएर तथा विशेष अवसर पारेर नाट्य कर्महरू हुन्थे । अहिले (साठीको दशक) व्यापक रूपमा यसले आफ्नोे क्षेत्र फैलाएको छ । रंगकर्ममा स्वच्छ प्रतिस्पर्धात्मक वातावरण सिर्जना भएको छ । नाटकघरहरूमा नाटकका अलावा अन्य साहित्यिक कार्यक्रमहरू सञ्चालनमा आएका छन् । त्यति मात्र होइन, सिनेकर्मीहरूको जमघटको थलो बनेको छ । रंगकर्मीहरूबीच एकआपसमा भाइचाराको सम्बन्ध विकसित भएको छ । एउटा नाटकघर र अर्को नाटकघरमा फरकफरक दिन बिदा पारेर एक अर्काको नाटक हेर्न जाने परम्परा बसेको छ । एउटा नाटकघरले अर्को नाटकघरको विज्ञापन गरिरहेका छन् । साँच्चै भन्ने हो भने यसले रंगकर्मीहरूको एक किसिमको भावनात्मक सम्बन्धलाई मजबुत बनाएको छ ।

बरु रंगमञ्च पढाउने गुरुहरूले नाटकको स्वाद लिन नभ्याउनुभएको होला तर एकचोटि नाटकको स्वाद पाइसकेका विद्यार्थीहरू खोजीखोजी नाटक हेर्न धाएको देख्न सकिन्छ ।

कतिपय त रंगमञ्चलाई फिल्मतिर चढ्ने भ¥याङको रूपमा उपयोग गर्ने अभिप्रायमा प्रवेश गरेका देखिन्छन् । तर, यसले पनि अन्ततोगत्वा नेपाली रंगमञ्चलाई नै फाइदा पु¥याइरहेको छ । केही समय फिल्मको भूत लागे पनि उनीहरूले सन्तुष्टिको सास रंगमञ्चमै फेर्न सक्छन् । त्यसैले त टेरिन्स म्यान भन्छन्, फिल्मले चर्चित बनाउँछ, टेलिभिजनले धनी बनाउँछ तर रंगमञ्चले असल बनाउँछ । फिल्ममा लागे पनि उनीहरू रंगमञ्चमा फर्किहाल्छन् ।

कला त कलै हो चाहे त्यो काँचको पर्दामा देखिएको होस् या दर्शकको अघिल्तिर । रंगमञ्चको आफ्नै खालको महत्त्व छ । दर्शकसँग सिनेमाका कलाकारको सम्बन्ध परोक्ष रहेको हुन्छ भने रंगमञ्चका कलाकारहरूको सम्बन्ध प्रत्यक्ष रहेको हुन्छ । रंगमञ्चमा उत्रेका कलाकारहरूका हाउभाउ, कटाक्ष जीवन्त हुन्छन् । उनीहरूका गतिविधिमा दर्शकको भाव तादात्म्य भएर घोलिएको हुन्छ । पछिल्लो समयमा सिनेमाका महानायक राजेश हमाल, अभिनेत्री नम्रता श्रेष्ठ, महेश शाक्य जस्ता कलाकारहरू रंगमञ्चमा उत्रेका छन् ।

स्कुलकलेजमा अतिरिक्त कक्षाको रूपमा समेत नाट्य विधालाई समावेश गरिरहेको पाउन सकिन्छ । वार्षिकोउत्सव लगायतका कार्यक्रममा समेत विद्यार्थीहरू यस क्षेत्रमा आकर्षित भएको पाउन सकिन्छ । सचेत अभिभावकले नाट्य गृहमा आफ्ना बालबच्चालाई लगेर नाटक हेराएका देखिन्छन् । स्कुलमा आफ्ना बालबच्चाहरूलाई नाटकमा भाग लिन हौस्याएको स्थिति छ । यसले गर्दा यो क्षेत्र विस्तारै फैलिँदै गएको महसुस भएको पाइन्छ ।

यतिखेर नेपाली रंगमञ्च मौलाएको भान भइरहेको छ । कान्तिपुरको खाल्डोभित्र मात्रै नभई मोफसलमा पनि सिनेमाघरमा जस्तै नियमित नाट्य मञ्चन भइरहेका छन् । उपत्यकाको कालिकास्थानमा सर्वनाम, बत्तीसपुतलीमा शिल्पी, अनामनगरमा मण्डला, टेकुमा कौसी थिएटर, थापागाउँमा कुञ्ज थिएटर, ललितपुरको बेरीजोन थिएटरमा मा नियमित नाटकीय गतिविधिहरू सञ्चालन भइरहेका छन् । दर्शकहरूले नाटकहरू पालैपालो गरी अझ भनूँ छानी छानी नाटकघरहरूमा पुगेर नाटक हेरिरहेको पाउन सकिन्छ । त्यसैगरी थिएटर भिलेजले नाटकघर बनाउने तयारी गरिरहेको छ भने कीर्तिपुरमा थिएटर मल, सिनामंगलमा पुरानो घर, रातो पुलमा शैलीको नाटकघर उद्घाटनको दिन पर्खेर बसेको अवस्था छ ।

उपत्यकाबाहिर पोखराको पोखरा थिएटर, झापाको परिवर्तन थिएटर, झोराहाटको झोराहाट थिएटर, विराटनगरको आरोहण गुरुकुलमा नियमित नाटक मञ्चन भइरहेका छन् । यी सबै गैरसरकारी पहलकदमीबाट भएका कामहरू हुन् । सरकारी स्तरबाट स्थापित नाचघर, संगीत नाट्य प्रज्ञाप्रतिष्ठान, नेपाल प्रज्ञाप्रतिष्ठानका कामहरू औपचारिक रूपमा सीमित भएको देख्न सकिन्छ । यो वर्तमान नेपाली रंगमञ्चीय अवस्थामा सुखद क्षण मान्नुपर्छ ।

अग्रज केही रंगकर्मीहरूको क्रियाशीलता सन्तोषजनक छैन । उनीहरूले जे पहिला गरे, त्यसैमा चित्त बुझाएर बसिरहेका छन् । लाग्छ रिटायर्ड जीवन बिताउँदै छन् । भनिन्छ, पत्रकारिता, राजनीति तथा कला क्षेत्रमा उमेर भन्नु पर्दैन । उनीहरू युवा पुस्ताको नाट्यकर्महरू हेरेरै बसिरहेका छन् । तर, नयाँ पुस्ताको उत्साहले समकालीन रंगमञ्च जुन रूपमा अगाडि बढेको छ, त्यो साँच्ची नै भरभराउँदो छ । यो यात्रा अनवरत चलिरहनुपर्छ । नेपाली साहित्य तथा कला–संस्कृतिको सम्बद्र्धनमा राज्यको ढुकुटी प्रयोग गरेका निकाय उही लोसे पारामा लत्रेका छन् । निजीस्तरमा रातदिन खटेर रंगमञ्चलाई कार्य क्षेत्र बनाएका अहिलेका नयाँ पुस्तालाई प्रोत्साहन गर्नु सबैको दायित्व हुन आउँछ ।

प्रतिक्रिया