न्युरोडलाई ‘नमुना व्यापारिक केन्द्र’ बनाऔँ–मन्त्री यादव

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले न्युरोड क्षेत्रलाई नमुना व्यापारिक केन्द्रको रूपमा विकास गर्नुपर्ने बताएका छन् । खिचापोखरी न्युरोड व्यापार संघको ‘छैटाँै अधिवेशन तथा ११औँ वार्षिक साधारणसभा’ का अवसरमा आयोजित कार्यक्रममा उनले न्युरोडलाई नयाँ ढंगले अगाडि बढाउन जरुरी रहेको बताए । ‘समृद्ध नेपाल निर्माणमा न्युरोडका उद्योगी व्यवसायीको ठूलो भूमिका रहेको छ’, उनले भने । न्युरोडलाई नमुना व्यापारिक केन्द्र निर्माणका लागि उद्योगी व्यवसायीहरू एकजुट हुनुपर्ने उहाँको भनाइ छ । ‘न्युरोड देशको सम्पत्ति भएकाले यसलाई रक्षा गर्न यहाँकै उद्योगी व्यवसायी लाग्नुपर्छ’, उनले भने ।

मन्त्री यादवले सरकारले जनतासँग गरेको वाचाअनुसार काम गर्न नसकेको बताउँदै आगामी दिनमा काम गरेर छाड्ने प्रतिबद्धता व्यक्त गरे । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले न्युरोड ऐतिहासिक व्यापारिकस्थल भएकाले यस क्षेत्रको विकासका लागि महानगरपालिकाले योजना बनाएर अगाडि बढ्न लागेको बताए । ‘व्यापारिक भवन निर्माणका लागि महानगरपालिका लागिरहेको छ’, उनले भने । फुटपाथ मुक्त सहर निर्माण गर्न महानगरपालिका लागेको उनको भनाइ थियो । महानगरपालिकाले न्युरोड र दरबारमार्ग क्षेत्रमा ‘स्मार्ट पार्किङ’ को रूपमा विकास गर्न बोलपत्र आह्वान गरिसकेको प्रमुख शाक्यले बताए ।

नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले मुलुकको व्यापार घाटा कम गर्न सरकारले आयातलाई कम गरी निर्यातलाई बढावा दिने वातावरण निर्माणमा लाग्नुपर्ने बताए । ‘दैनिक व्यापार घाटा ३ अर्ब ७६ करोड भएकाले यसलाई घटाउन सरकार लाग्नुपर्छ’, उनले भने । नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले सरकारले साना उद्योगी व्यवसायीको मर्कालाई बुझ्न नसकेको आरोप लगाए । ‘भन्सारमा देखिएको समस्या, घरवहाल कर, बैंकको चर्को ब्याजदर लगायतका समस्या समाधानका लागि सरकार लाग्नुपर्छ’, उनले भने ।

आन्तरिक राजस्व कार्यालय न्युरोडका प्रमुख डा. रामप्रसाद मैनालीले न्युरोड क्षेत्रमा रहेको फुटपाथको व्यापारलाई पनि करको दायरामा ल्याउनुपर्ने उल्लेख गरे । कर छल्ने जोकोही उद्योगी व्यवसायीलाई कारबाही गरिने उनको भनाइ थियो । खिचापोखरी युवा क्लबका अध्यक्ष राजेश डंगोलले धरहरा पुनर्निर्माण र पार्किङले खिचापोखरी क्षेत्रको उद्योग–व्यवसाय समस्यामा परेको बताए । संघका अध्यक्ष मनोजबाबु श्रेष्ठले भन्सार क्षेत्रमा देखिएको न्यून बिजकीकरणको अन्त्यका लागि सरकारलाई पहल गर्न आग्रह गरे । ०६३ सालमा स्थापना भएको संघले साना व्यवसायीको हकहितमा काम गर्दै आइरहेको अध्यक्ष श्रेष्ठले बताए । कार्यक्रममा नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक बालगोपाल महर्जनलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया