विश्वका घुम्नलायक उत्कृष्ट १० सहरमा काठमाडौं

काठमाडौं । नेपाल र नेपालीका लागि एउटा खुसीको खबर छ । विश्व प्रसिद्ध लोन्ली प्लानेटले विश्वका घुम्नलायक विश्वका उत्कृष्ट १० सहरमा काठमाडौंको नामसमेत समेटिको छ । यसले नेपालमा पर्यटक भित्र्याउन सरकार र निजी क्षेत्रले गरिसकेको सार्थक प्रयत्नलाई समेत बल दिएको छ । पर्यटन प्रवद्र्धन, प्रचार प्रसारमा काम गर्दै आएको लोन्ली प्लानेटले सन् २०१९ का घुम्नलायक उत्कृष्ट १० सहरको सूचीमा काठमाडौंलाई समावेश गरेर नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याएको छ ।

सन् २०२० लाई नेपाल सरकारले नेपाल भ्रमण वर्ष घोषणा गरेको र सो अवधिमा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहितका नीति तथा कार्यक्रम सार्वजनिक गरेको सन्दर्भमा लोन्ली प्लानेटको पछिल्लो विवरणले थप बल पु¥याएको छ । ०७२ सालको ‘गोरखा भूकम्प’ ले क्षति पु¥याएका पुरातात्विक महत्वका सम्पदाको पुनर्निर्माणले गति लिएको र धेरैजसो पुनर्निर्माण पनि सम्पन्न भइसकेको भन्दै काठमाडौं घुम्नलायक सहरको रूपमा रहेको उक्त संस्थाको ठहर छ ।

मन्दिर, कला र संस्कृतिले भरिपूर्ण काठमाडौं उपत्यकामा पछिल्लो समय सूचना तथा प्रविधिको पनि सहज प्रयोग गर्न पाइने पनि विवरणमा उल्लेख छ । क्षति भएका पुरातात्विक महत्वका सम्पदाको पुनर्निर्माण, तथा नेपालीको पाहुनालाई स्वागत गर्ने शैलीका कारण पनि जो कोहीलाई आकर्षित गर्न सक्छ । यस्तै, पुराना स्मारक तथा अन्य परम्परागत कला कौशल पनि पर्यटकका लागि अर्को आकर्षणको विषय बन्न सक्छ । ढुङ्गेधारा, हिटी, देवल तथा काठमाडौं, पाटन र भक्तपुर दरबार स्वायर पर्यटकका लागि खुला संग्रहालयजस्तै लाग्न सक्छ ।

टे«किङ एजेन्ट्स एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष नवराज दाहालले विश्व प्रसिद्ध पर्यटनसम्बन्धी जानकारी दिने लोन्ली प्लानेटले काठमाडौंलाई सन् २०१९ को घुम्नलायक उत्कृष्ट १० सहरमा राख्नुु नेपाल र नेपालीका लागि खुसीको विषय भएको प्रतिक्रिया दिए । नेपालको पर्यटनलाई अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धन गर्न यस्ता विषयले पनि महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनको भनाइ छ । उनले सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको र २० लाख पर्यटक भित्र्याउने बताइरहेको बेला काठमाडौं उपत्यकामा बाँकी रहेको पुनर्निर्माण, ट्राफिक जाम तथा अन्य केही समस्या भने समयमै हटाउने तर्फ पहल गर्नुपर्ने बताए ।

पर्यटकको संख्या मात्रै बढाउने नभई गुणस्तरीय पर्यटनमा समेत जोड दिएको सन्दर्भमा विश्व प्रसिद्ध संस्थाहरूको घोषणा हाम्रा लागि सकारात्मक चुनौती हुने अध्यक्ष दाहालको टिप्पणी छ । प्लानेटले घुम्नलायक उत्कृष्ट १० सहरको पहिलो नम्बरमा डेनमार्कको कोपनहेगन, दोस्रोमा चीनको सेन्जेन, तेस्रोमा सर्बियाको नोभीसाड, चौथोमा अमेरिकाको मियामी, पाँचौँमा काठमाडौं, छैटौँमा मेक्सिकोको मेक्सिको सहर, सातौँमा सेनेगलको डाकार, आठौँमा अमेरिकाको सिएटल, नवौँमा क्रोएसियाको जदार र १०औँमा मोरक्कोको मेक्नेसलाई घुम्नलायक उत्कृष्ट १० सहरमा समावेश गरेको छ ।

प्रतिक्रिया