रोशनले बनाए भर्चुअल म्युजियम

काठमाडौं । नेपाली सम्पदाको संरक्षण तथा अध्ययन अनुसन्धानमा सहजता ल्याउने लक्ष्यका साथ कलाकार रोशन मिश्रले भर्चुअल म्युजियम बनाएका छन् । नेपालबाट बाहिरिएका पुरातात्विक, ऐतिहासिक चित्र, मूर्ति, समसामयिक कला, हस्तलिखित सामग्री तथा महत्वपूर्ण सांस्कृतिक सामग्री चिनाउने उद्देश्यका साथ ग्लोबल नेपाली म्युजियम डटकममार्फत उनले यस कामको थालनी गरेका हुन् ।

उनले नेपालबाट विभिन्न कारणले हराएका, चोरिएका तथा बेचिएका महत्वपूर्ण सांस्कृतिक सम्पदा कुन संगहालय या व्यक्तिसँग रहेका छन् तिनका बारेमा जानकारी दिने लक्ष्य राखिएको वेभसाइट सुरु गरेको बताए । अभियन्ता तथा ग्लोबल नेपाली म्युजियम डटकमका सुरुवात्कर्ता मिश्रका अनुसार विश्वका विभिन्न संग्रहालयको प्रदर्शनी राखिएका र नराखिएका नेपालसम्बन्धित सांस्कृतिक महत्व जनाउने सामग्रीहरुलाई प्रकाशित गर्दै जाने लक्ष्य राखिएको छ । उनले भने, ‘अहिले हामीले नेपालसँग सम्बन्धित सामग्री राखेका सम्भावित संग्रहालयसँग सम्पर्क गरी अनुमति लिने क्रममा छौं ।’

उनका अनुसार बिटिस म्युजियमले यस कार्यका लागि उनलाई स्वीकृति प्रदान गरेको छ । यो वेभसाइटलाई भर्चुअल म्युजियमकारूपमा विकास गरिने उनले बताए । यसमा चित्र, मूर्ति, हस्तलिखित सामग्री, समसामयिक कला र सांस्कृतिक महत्व राख्ने सामग्री राखिने मिश्रले जानकारी दिए । नेपालीहरुलाई सरल तरिकाले नेपालबाट बाहिरिएका महत्वपूर्ण समाग्री अध्ययन, अनुसन्धान तथा जानकारी दिने उद्देश्य रहेको उनले बताए ।

प्रतिक्रिया