मार्क्सलाई चिहानमा पनि आक्रमण !

लन्डन । दुई साताको बीचमा उत्तरी लन्डनमा रहेको कार्ल मार्क्सको सालिकमा दोस्रोपटक क्षति गराइएको छ । ह्याम्मर प्रयोग गरेर घृणाको सिद्धान्त प्रतिपादक र नरसंहारको रूपरेखा तयार पार्ने व्यक्तिका रूपमा सालिकमा रातो अक्षरले लेखेर ह्याम्मर प्रहार गरिएको हो ।

अघिल्लो पटक फेब्रुअरी–४ का दिन यस्तै आक्रमण भएको थियो । उक्त आक्रमणले गर्दा सालिकमा निकै नै क्षति भएको छ । ती कुनै पनि आक्रमणलाई लिएर कसैलाई पनि गिरफ्तार गरिएको छैन । जर्मन दार्शनिक मार्क्सको सालिक अब पहिलाको अवस्थामा ल्याउन गाह्रो रहेको फ्रेन्ड्स अफ हाइगेट केमेटरी ट्रस्टका अधिकारीहरूले बताएका छन् ।

बेलायती म्युजियमका कर्मचारी म्याक्सवेल ब्लोफिल्डले त्यो घटनाबाट आफू छक्क परेको जनाएका छन् । त्यहाँ पर्यटकहरू नियमित रूपमा आउने गरेकोमा यो घटनाले नोक्सान भएको बताइएको छ । कार्ल मार्क्सको चिहान हाइगेट केमेटरीको पूर्व तर्फको भागमा रहेको छ । मार्क्स, उनकी पत्नि जेनी भोन वेस्टफाटेन र परिवारका अन्य सदस्यको शव त्यहाँ गाडिएको मानिन्छ ।

वास्तविक रूपमा इस्टर्न केमेटरीको विभिन्न भागमा गाडिएको भए पनि सन् १९५४ मा ती चिहानलाई एकै स्थानमा जम्मा गरिएको थियो । ती चिहानहरू लरेन्स ब्राडसाले डिजाइन गरेका हुन् र १९५६ मा खोलिएका हुन् । खोल्ने कार्यक्रम बेलायत कम्युनिस्ट पार्टीका महासचिव ह्यारी पोलिटको नेतृत्वमा गरिएको थियो ।

त्यसमा ‘वर्कर्स अफ अल ल्यान्डस युनाइट’ भन्ने कम्युनिस्ट घोषणापत्रको नारा पनि लेखिएको छ । यसको निर्माणपछि माक्सवादी सिद्धान्त मान्नेका लागि यो स्थान तीर्थस्थलजस्तै भएको थियो । तर, माक्र्सका विरोधीहरूले भने यसलाई लक्षित गरेर धेरैपटक आक्रमण गरेका छन् । सन् १९७० को दशकमा दुईपटक बम आक्रमण नै भएको थियो । मार्क्स राजनीतिक शरण लिएर सन् १८४९ मा बेलायत गएका थिए ।

उनी १८७५ बाट मेटल्यान्ड पार्क रोडमा बस्न थालेका थिए । उनी लन्डनमा रहुन्जेल उनका साथी फ्रेडरिक एन्गेल्सको भर परेका थिए । उनको जन्म ५ मे १८१८ मा जर्मनीमा भएको हो भने मृत्यु १४ मार्च १८८३ मा बेलायतमा भएको हो ।

प्रतिक्रिया