रणवीर आलियाको झगडा

एजेन्सी, मुम्बई । बलिउडमा रोमान्टिक प्रेमी जोडीकारूपमा परिचित अभिनेता रणवीर कपुर र अभिनेत्री आलिया भट्टबीच झगडा भएको खबर बाहिरिएको छ । यसबारेमा आलियाले प्रतिक्रिया दिँदै झगडा परेको भनिएको दिनमा आफूले ‘भ्यालेन्टाइन’ मनाइरहेको भनेर प्रतिक्रिया दिएकी छन् । आलिया र रणवीरको झगडा परेको जस्तो देखिने भिडियो अनलाइनमा सार्वजनिक भएपछि दुवैबीच झगडा परेको खबर बाहिरिएको थियो ।

आलियाले भनेकी छन्, ‘म वास्तवमै उक्त दिन भ्यालेन्टाइन मनाइरहेकी थिएँ । म गली ब्वाईको प्रचारमा रहेकाले म ढिलो सुतेको थिए र ढिला उठें । उठ्दाखेरी मलाई पन्छाइनसक्नु म्यासेजहरू आइसकेका थिए जसमा मेरो सिनेमाको लागि शुभकामना, भ्यालेन्टाइन म्यासेज र केही अन्जान व्यक्तिले पठाएका विवाह प्रस्तावका सन्देशहरू पनि थिए ।’ रणवीर आलियाबीच झगडा भएको भनिएको भिडियोमा दुवैजना ‘गली ब्वाई’ को विशेष प्रदर्शनीमा जाँदै गर्दा कारभित्र विवाद गरिरहेको जस्तो देखिएको थियो ।

यी दुईबीच विवाद भएको हल्ला व्यापकरूपमा चलेपछि रणवीरका सेफले दुवैजनाले भ्यालेन्टाइन डिनर गरिरहेको फोटो सार्वजनिक गरेका थिए । अहिले अभिनेत्री आलिया अभिनीत ‘गली ब्वाई’ प्रदर्शन भइरहेको छ । यस चलचित्रले दर्शक तथा समीक्षकको राम्रो प्रतिक्रिया पाएको छ भने कमाइ पनि राम्रो गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । रणवीर र आलिया प्रेमसम्बन्धमा भए पनि हालसम्म उनीहरुले सँगै अभिनय गरेको चलचित्र प्रदर्शनमा आएका छैनन् । यसैबीच आगामी डिसेम्बरमा प्रदर्शनमा आउने तयारीमा रहेको आयन मुखर्जीको ‘ब्राम्हास्त्र’ मा यो जोडीले सँगै काम गरेका छन् ।

प्रतिक्रिया