गोकर्णेश्वर टिम च्याम्पियन

काठमाडौं । नेपालको गोकर्णेश्वर डोजो ११ औं कानाजावा कप अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा आइतबार टिम च्याम्पियन बनेको छ । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको प्रतियोगितामा गोकर्णेश्वरले २१ स्वर्ण जित्यो । दोश्रो भएको भारतले ७ स्वर्ण तथा तेश्रो स्थानको नेपालको श्री चामुण्डा माविले ५ स्वर्ण हात पारे । नेपाल सोतोकान कराते संघ (एसकेआईएफ) द्वारा आयोजित प्रतियोगिताको पुरुषमा सत्यनारायण मुरिया तथा महिलामा रेनी ज्याकोब उत्कृष्ट खेलाडी घोषित भए । दुवै भारतका हुन् ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य एवं नेपाल कराते महासंघका अध्यक्ष दावा गुरुङ, आयोजक संघका उपाध्यक्ष एवं प्रमुख प्रशिक्षक निवासगोपाल वैद्यलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । एकदिने प्रतियोगितामा नेपाल, भारतसहित भुटान र पाकिस्तानका २ सय २५ खेलाडीले ३६ स्पर्धामा प्रतिस्पर्धा गरेको आयोजकले जनाएको छ । यसअघि शनिबार संघकै आयोजनामा कमलपोखरीमा एकदिने टेक्निकल सेमिनार पनि भएको थियो । सेमिनारमा नेपाल, भारत र पाकिस्तानबाट ८० जना सहभागी थिए ।

प्रतिक्रिया