‘समान सेवा/सुविधा नपाए आन्दोलन’

काठमाडौं । भूतपूर्व ब्रिटिस गोरखा सैनिकले समान कामको लागि समान ज्याला पाउनुपर्ने भन्दै आफूहरूलाई पनि ब्रिटिससरह नै सेवा सुविधा दिनुपर्ने माग गरेको छ ।

राजधानीमा पत्रकार सम्मेलन गरेर उनीहरूले यस्तो माग गरेका हुन् । भुतपुर्व ब्रिटिश गोरखा सत्याग्रह संयुक्त संघर्ष समितिका संयोजक कृष्णबहादुर राईले आफूहरूले प्रतिशतको आधारमा नभई ‘समान कामको समान दाम’ पाउनुपर्ने माग गरेको स्पष्ट पारे । उनले भने,‘ब्रिटिश सरकारले आफ्ना सैनिकसरह हामीलाई पनि सेवा सुविधा दिन्छु भनेको छ, तर यतिका वर्ष हुँदासमेत बोलेको कुरा कार्यान्वयन गरेन् ।’ आफूहरूको समस्या समाधान गर्न नेपाल सरकार र ब्रिटिश सरकारले पनि ११ महिना बितिसक्दापनि समस्याको समाधान नगरेको उनले गुनासो पोखे ।

उनले विभेद कहाँ भयो भन्ने कुरामा नेपाल सरकार र ब्रिटिश सरकार दुवै जानकार रहेको पनि जिकिर गरे । उनले भने,‘प्राविधिक समितिले सार्वजनिक गरेको प्रतिवेदनअनुसार हाम्रो समस्याको एक महिनाभित्रै समाधान गर्ने भनेर भन्नुभयो, हामीले आश्वासनमात्रै पायौं ।

नोभेम्बरसम्म प्याकेज आउँछ भनिएको थियो, तर त्यो प्याकेज आउन सकेन ।’ पुरुष गोरखा सैनिकहरूलाई ब्रिटिश सरकारले विभेद गरिरहेको अवस्थामा नेपाली महिलाहरूलाई ब्रिटिश आर्मीमा भर्ती हुन नेपाल सरकारले लगाएको प्रतिबन्धको र भर्ती भएकाहरूलाई फिर्ता बोलाउन गरेको निर्णयको स्वागत गर्दै उनले भने,‘नेपाल सरकारको यो निर्णय सराहनीय छ ।’

प्रतिक्रिया