पाठकमाथि कारबाही थाल्दै अख्तियार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आप्mना पूर्व–आयुक्त राजनारायण पाठकमाथि अनुसन्धान सुरु गर्ने भएको छ । आयुक्तबाट राजीनामा दिएका पाठकमाथि छानबिन गर्नेबारे आयोगले आइतबार छलफल गरेको हो ।

आइतबार अख्तियारका पदाधिकारीहरूको ‘जिरो आवर’मा उनीमाथि कारबाही गर्ने विषयमा छलफल भएको स्रोतले जानकारी दिएको छ । पाठकका कारण अख्तियार अफ्ठेरोमा परेको भन्दै आयुक्तहरूले पाठकमाथि अनुसन्धान गर्नुपर्ने राय प्रमुख आयुक्तलाई दिएका छन् ।

प्रमुख आयुक्त नवीनकुमार घिमिरेसहित अन्य आयुक्त र वरिष्ठ कर्मचारी सम्मिलित बैठकले पाठकविरूद्ध अनुसन्धान प्रक्रिया अघि बढाउने निष्कर्ष पनि निकालेको छ । टंगालस्थित कार्यालयमा भएको बृहत् छलफलमा आयुक्तहरू डा.गणेशराज जोशी, डा.सावित्री गुरुङ, अख्तियार सचिव महेश्वर न्यौपाने तथा वरिष्ठ कर्मचारी सहभागी थिए । ‘भ्रष्टाचार नियन्त्रण गर्ने अंगको जिम्मेवार पदमा बसेर आर्थिक अनियमितता गर्ने ठाकुरविरुद्ध छानबिन प्रक्रिया अघि बढाउने विषयमा छलफल भएको छ’, आयोग स्रोतले भन्यो, ‘आयुक्तको रूपमा रहँदा उनले गरेका कार्यसम्पादनदेखि आयोगको जानकारीमा रहेका अन्य विषयले छलफलमा प्रवेश पाए।’

अख्तियारको शाख पाठकका कारण गिरेको निष्कर्ष बैठकमा सहभागीहरूले निकालेका छन् । पूर्व–पदाधिकारीको रूपमा पाठकमाथि अकुत सम्पति आर्जन गरेको बारे छानबिन गर्न समिति बनाउनुपर्ने मनसायमा अख्तियार पुगेको छ । नेपाल इन्जिनियरङ कलेजका पदाधिकारीलाई पनि छानबिन गर्ने गरी केही दिनमा ठोस कदम चाल्ने तयारीमा अख्तियार रहेको छ । संविधानको धारा २३९ को उपधारा २ मा महाअभियोग लाग्ने व्यक्तिलाई पदमुक्त भएपछि अख्तियारले नै अनुसन्धान गर्न र गराउन सक्ने उल्लेख छ । त्यही धाराको उपधारा ३ मा त्यस्ता व्यक्तिले भ्रष्टाचार मानिने काम गरेको देखिए अदालतमा मुद्दा चलाउन सक्ने उल्लेख छ । यही आधारमा टेकेर पाठकमाथि अनुसन्धान गर्ने तयारीमा अख्तियार छ ।

बैठकमा पाठकउपर कसरी कारबाही अघि बढाउनेदेखि मुद्दा अदालतमा लैजाँदा आवश्यक कानुनी आधारका विषयमा छलफल भएको हो । मुद्दा लिएर अदालत पुग्दा आयोग स्पष्ट हुनुपर्नेमा धैरेको जोड थियो । ‘कारबाही अघि बढाउने विषयमा दुईमत रहेन’, आयोग स्रोतले भन्यो, ‘टिप्पणी नै उठाएर अनुसन्धानको आदेश सोमबार बिहान हुनसक्छ । ‘प्रमुख आयुक्त घिमिरेले सामूहिक बैठकपछि पनि प्रहरी महाशाखादेखि सम्बन्धित महाशाखा प्रमुखहरूसँग पाठककै विषयमा छलफल गरेका थिए ।

यता, प्रहरी महाशाखाका अधिकारी कतिबेला पाठकलाई पक्राउ गर्ने आदेश आउने हो भन्दै दिनभर प्रतीक्षामा बसेका थिए । पाठक आयोगकै निगरानीमा रहेका कारण कारबाहीको निर्णयसँगै उनलाई पक्रने कि कारबाहीको दायरामा ल्याएर थप प्रक्रिया अघि बढाउने विषयमा समेत परामर्श लिने काम भएको छ ।

प्रतिक्रिया