हस्तकलामा उद्यमी बनाउँदै स्वच्छ व्यवसायी समूह

काठमाडौं । नवराज अधिकारीले छालाका सामग्री बनाउन थालेको करिब १५ वर्ष भयो । ज्वालामुखी गाउँपालिका–२ मैदी, धादिङका ४५ वर्षीय अधिकारीको व्यवसाय काठमाडौंको तारकेश्वर नगरपालिका–६ मा छ । नेपालटारमा युनिक लेदर ह्यान्डिक्र्याफ्ट प्रालिका नामबाट व्यवसाय चलाउन थाल्दा चल्छ कि चल्दैन भन्ने ठूलो अन्योलता थियो । ०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पले त उनको व्यवसायलाई नराम्ररी धक्का दियो । त्यसपछिका ४ महिना व्यवसाय पूरै बन्द भयो । त्यसपछि व्यवसायलाई विस्तारै पूरानै लयमा फर्काउने गतिले काम गर्न थाले । तर, सोचेजस्तो हुन सकेको थिएन ।

उनको व्यवसायलाई जीवन दिने क्रममा, भूकम्पबाट क्षति व्यहोरेका साना व्यवसायीलाई राहत दिने उद्देश्यले सञ्चालनमा आएको स्वच्छ व्यवसायी समूह (एफटिजी) ले नवराजका लागि वरदान भयो । समूहले उपलब्ध गराएका केही मेसिनरी सामग्रीबाट व्यवसाय चल्न थाल्यो । त्यसपछि समूहले क्रमशः उनको व्यापारलाई आधुनिकीकरण गर्न र विस्तार गर्न सघाउ पु¥यायो । यस क्रममा उनले नयाँ प्रविधिका ४ वटा जुकी मेसिन र १ वटा ओभरलक मेसिन पाए । त्यसपछि उनको व्यापारले बिस्तारै गति लिन थाल्यो ।

‘सामान्य खालका मेसिनबाट काम गर्दा मासिक ३÷४ लाखको व्यापार हुन्थ्यो,’ नवराज भने, ‘एफटिजीले उपलब्ध गराएका आधुनिक मेसिनको प्रयोगपछि मासिक ५÷६ लाखसम्मको व्यापार हुन थालेको छ ।’ २ लाखबाट व्यवसाय सुरु गरेका उनले अहिले ७० लाख रूपैयाँ लगानी पु¥याएका छन् । उनको व्यापारको मुख्य केन्द्र ठमेल हो । स्वच्छ व्यवसायी समूहबाट प्रवर्धन गरिएका उद्यमीहरू नवराजजस्तै प्रतिदिन व्यावसायिक सफलतातिर लागिरहेका छन् । यसका अर्का उदाहरण हुन् नीमा शेर्पा । करिब १३ वर्षअघि काठमाडौंको साविक बुढानिलकण्ठ गाउँ विकास समिति (हाल नगरपालिका) ११ कपनमा हस्तकला र कागज बनाउने काम गर्दै आएका नीमा अहिले वार्षिक रूपमा ८ करोड रुपैयाँ बराबरको व्यापार गर्छन् । उत्पादित सामग्री जर्मन, साउदी अरब, अस्ट्रेलिया, जापान लगायतका देशमा निर्यात गर्दै आएका शेर्पालाई स्वच्छ व्यवसायी समूह (एफटिजी) ले पेपर ज्वेलरी तालिक र युभि प्रिन्टिङ मेसिन, कागज सुकाउने मेसिन दिएपछि व्यापारमा वृद्धि हुन थालेको हो । उनको व्यापारका सहयात्री दोलखाको बिगु गाउँपालिकाका निम्तो शेर्पा र रिन्जेन छोमो शेर्पा हुन् ।

‘तालिम र यूभि प्रिन्टिङ मेसिन पाएपछि काम गर्न र अर्डर अनुसारको सामान पु¥याउन सहज भएको छ’ निमाले भने ‘हातले काम गर्नुपथ्र्यो, समय पनि लाग्थ्यो अहिले मेसिन पाएपछि त्यसमा काम गर्न सजिलो भएको छ ।’ अब उनमा व्यापार वृद्धिको सम्भावना बलियो बन्दै गएको छ । उनी भन्छन्, मार्बेलिङसम्बन्धी तालिम पाए, व्यापारलाई झन् तीव्र बढाउन सक्छु ।

चापागाउँ ठेंचोमा ह्यान्डिक्र्याफ्ट सम्बन्धी काम गर्दै आएकी कृष्णकुमारी पौडेल (महर्जन) को व्यवसाय अहिले उकासिएको छ । ०७२ सालको भूकम्पपछि धरासायी बनेको उनको व्यवसाय उठाउन व्यवसाय उठाउन समूहले हात दिएको थियो । भूकम्पपछि व्यवसाय नचल्ने अवस्थामा पुगेपछि समूहले हात दिएको थियो । भूकम्पपछिका तीन महिना त कुनै पनि कपडा उत्पादन नै भएनन् । तानबाट उत्पादन हुने सारी, थान्का, कुर्था उत्पादन हुने उनको ह्यान्डिक्र्याफ्टलाई स्वच्छ व्यवसायी समूह (एफटिजी) ले ४ वटा तान (ह्यान्डलुम), १ वटा वार्पिङ ड्रम लगायतका सामग्री सहयोग गरेपछि व्यवसाय तंग्रिन थालेको हो । त्यसपछि एफटिजीले नै व्यवसायलाई पुनर्जीवित बनाउन ४५ दिनको आधारभूतसँगै एड्भान्स तालिम दिएर उत्पादन वस्तुको बजारीकरणका लागि समेत सहयोग पु¥याएको थियो । अहिले व्यापारमा गतिशिलता छाएको छ । कृष्णकुमारी भन्छिन्, ‘एफटिजीले प्रविधि र सीपमा सहयोग गरेपछि आधुनिक र व्यावसायिक रूपमा व्यवसाय सञ्चालन भइरहेको छ ।’ सात जना महिलाले रोजगारी पनि पाएका छन् । उनको ह्यान्डिक्र्याफ्टबाट उत्पादित सामग्रीहरूको बजारसँगै हस्तकलासम्बन्धी प्रदर्शनीहरूमा राम्ररी बिक्री हुन्छन् । उनी अहिले मासिक १ लाख रूपैयाँसम्मका सामान बिक्री गर्छिन् ।

प्रतिक्रिया