अन्तर्राष्ट्रिय अवार्ड प्रदान

काठमाडौं । ‘अन्तर्राष्ट्रिय म्युजिक अवार्ड–२०१९’ मा उत्कृष्ट गायिकाको अवार्ड स्मृति गौतमले हात पारेकी छन् । लोकदोहोरी गायिका गौतमले शुक्रबार कतारमा सम्पन्न कार्यक्रममा उक्त अवार्ड प्राप्त गरेकी हुन् । गायिका गौतमको ‘घर त ठिमि’ बोलको गीतबाट उनले अवार्ड पाएकी हुन् । उक्त गीतमा टंक केसी र मिरा घिमिरेको संगीत रहेको छ । हिमालयन इभेन्टस प्रालि र जनसवाल राष्ट्रिय दैनिकको संयुक्त आयोजनामा कतारको दोहास्थित वेस्ट्रन प्लस होटेलमा अवार्ड तथा सम्मान कार्यक्रम भएको थियो ।

गायिका गौतमको ‘पानबुट्टे चोली’, ‘कालो बजारी’, ‘टोखा छहरे त्रिशुली बजार’, ‘कामेरो’, लगायतका चर्चित गीत सार्वजनिक भएका छन् । सिन्धुपाल्चोक स्थायी घर भएकी गौतम लामो समयदेखि नेपाली लोकदोहोरी तथा काँठ क्षेत्रका गीत गाउन प्रख्यात छन् ।

गायिका गौतमले केही दिनअघि मात्र नेपालमा ‘नेसनल पावर म्युजिक अवार्ड २०१९’ बाट सम्मानित भएकी थिइन् । ‘पानबुट्टे चोली’ गीतबाट उनले सर्वोत्कृष्ट काँठे गायिकाको अवार्ड प्राप्त गरेकी थिइन् । उक्त अवार्ड पूर्वराष्ट्रपति परमानन्द झाले प्रदान गरेका थिए ।

त्यस्तै, म्युजिक अवार्डमा उत्कृष्ट गायकको अवार्ड गायक तथा सर्जक अमृत खातीले हात पारेका छन् । विषम गौतमको शब्द र सिर्जु अधिकारीको सङ्गीत रहेको ‘झुम्के बुलाकी’, ‘ओ के छ त २’ बाट गायक खातीले उत्कृष्ट गायकको अवार्ड जितेका हुन ।

गायक खातीका ओके छ त, झुम्के बुलाकी, ओके छ त–२, हाम्रै कालिन्चोक, जुनतारा, बिउ खायो किरैले लगायतका गीत बजारमा आएका छन् । उक्त अवार्ड कार्यक्रममा रन्जित परियार, सरस्वती लामा, भूमिका गिरि, शोभा त्रिपाठी, नवीन पौडेल, दावा फिन्जो लामा लगायतका कलाकारले अवार्ड हात पारेको आयोजकले जानकारी दिएका छन ।

प्रतिक्रिया