पाकिस्तानलाई पूरै अलग्याइदिन्छौँः भारत

नयाँदिल्ली । एक आत्मघाती हमलाकारीले गराएको विस्फोटमा भारतीय अर्धसैनिक बलका ४६ जनाको ज्यान गएपछि भारतले पाकिस्तानलाई पूर्ण रूपमा एक्ल्याइदिने चेतावनी दिएको छ।

भारतले उक्त हमलामा छिमेकीको संलग्नता भएको निर्विवाद प्रमाण भएको बताएको छ । तर, सो प्रमाण उसले उपलब्ध गराएको छैन । पाकिस्तानले भने जैस ए मोहम्मदले जिम्मा लिएको सो हमलामा आफ्नो कुनै भूमिका नभएको बताएको छ । सो संगठन पाकिस्तानसँग सम्बधित छ ।

बिहीबार भएको उक्त आक्रमण कस्मिरमा दशकौँ यता भएका हमलामध्ये सबभन्दा घातक थियो । भारतका केन्द्रीय मन्त्री अरूण जेटलीका अनुसार पाकिस्तानलाई अन्तर्राष्ट्रिय समुदायबाट पूर्णतः अलग्याइदिन भारतले हरसम्भव कूटनीतिक कदम चाल्नेछ ।

तर, पाकिस्तानका एक मन्त्रीले चाहिँ पहिले भारतले प्रमाण पेस गर्नुपर्ने बताए । उनले उक्त हमलाबारे अनुसन्धानमा पाकिस्तानले सघाउने पनि बताए । सन् १९८० को दशकको अन्त्यदेखि नै भारत प्रशासित कस्मिरमा विद्रोह जारी छ । पछिल्ला वर्षहरूमा त्यहाँ हिंसात्मक घटनाहरूमा वृद्धि भएका छन् ।

भारत र पाकिस्तान दुवैले मुसलमान बहुल कस्मिरको पूरै भाग दाबी गर्छन् तर दुवैले केही भागमा मात्र नियन्त्रण गर्छन् । पहिलेका हमलाहरूपछि पनि भारतले पाकिस्तानविरुद्ध कूटनीतिक कारबाही गरेको थियो ।

सोही कारण अहिले भारतले पाकिस्तानसमेत सदस्य रहेको दक्षिण एसियाली देशहरूको संगठन सार्कभन्दा पाकिस्तान सदस्य नरहेको बिम्स्टेकजस्ता क्षेत्रीय संगठनलाई बढ्ता प्रवर्धन गरिरहेको छ ।

भारत भन्छ, ‘पाकिस्तानले लामो समयदेखि जैस ए मोहम्मदका विद्रोहीहरूलाई उसले सुरक्षित शरण प्रदान गरिरहेको छ । उसले सो संगठनविरुद्ध अन्तर्राष्ट्रिय प्रतिबन्ध तथा त्यसका नेता मसुद अजहरलाई राष्ट्रसंघको सुरक्षा परिषद्द्वारा आतंकवादी सूचीकृत गर्न माग गरेको छ ।

विगतमा पनि भारतले त्यस्ता प्रयास गरेको थियो तर पाकिस्तानको सहयोगी देश चीनले ती प्रयासमा बारम्बार भाँजो हालिदिएको थियो । शुक्रबार एक सुरक्षा बैठकपश्चात् संवाददाताहरूसँग बोल्दै जेटलीले पाकिस्तानलाई जवाफदेही बनाउन भारत कटिबद्ध रहेको बताए ।

पाकिस्तानलाई सन् १९९६ देखि भारतले दिँदै आएको व्यापार सुविधा खारेज गरिएको उनले बताए । शुक्रबार राजधानी दिल्लीमा बोल्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हमलाकारी तथा षड्यन्त्रकारीहरूले महंगो मूल्य चुकाउनुपर्ने चेतावनी दिए ।

उनले सुरक्षाकर्मीहरूलाई उचित समय, उचित स्थान र उचित स्वरूपमा कारबाही गर्न आफूले अनुमति दिइसकेको बताए । विश्लेषकहरू मोदीको भनाइपछि अब भारतले कुनै न कुनै स्वरूपमा बदलाको कार्य गर्न सक्ने ठान्छन् ।

तर, ठूलो हिमपातका कारण हाल भारत सरकारसँग सीमित सैन्य विकल्प मात्र रहेको उनीहरू बताउँछन् । सन् २०१६ मा भारतीय सैनिक शिविरमा भएको हमलामा १९ सैनिक मारिएपछि दिल्लीले बदलास्वरूप पाकिस्तान प्रशासित कस्मिरमा पसेर सैन्य कारबाही गरेको बताएको थियो ।

प्रतिक्रिया