चर्चामा बालसाहित्य

काठमाडौं । नेपाली बाल साहित्यका विषयमा परिचर्चा तथा कवि गोष्ठी सम्पन्न भएको छ । साहित्य सन्ध्याको ३ सय ९२औँ शृंखलामा बालकवि गोष्ठी र बालसाहित्य चर्चा भएको हो ।  कार्यक्रममा डा. ध्रुव घिमिरेले नेपालको बाल साहित्यको अवस्था र कार्यदिशाका बारेमा चर्चा गरे । उनले बालसाहित्यले बालमनोविज्ञानलाई केलाउन सकेमा त्यसले समाजमा सकारात्मक प्रभाव पार्ने बताए । उनले भने, ‘बालसाहित्य बालमनोविज्ञानसँग केन्द्रित रहेर लेखिनुपर्दछ ।’ उनले नेपालमा पछिल्लो समय बालसाहित्यका क्षेत्रमा गतिविधि बढ्दै गएको धारणा व्यक्त गरे ।

उक्त कार्यक्रममा डा ध्रुव घिमिरे, जयन्ती स्पन्दन, गंगा पौडेल, प्रजिसा सत्याल, प्रलिसा अधिकारी, लालिता दोषी, प्रबिसा रेग्मी, अदिती श्रेष्ठ, ऋषी राम, संजिता थापा, डम्बर घिमिरे, अदिती आचार्य, गणेश घिमिरे ‘मार्मिक’, जिबिता कुँवर, मधुमाया राई, कुन्जन लुइँटेल, रीमा पराजुली, अस्तित्व घिमिरे, गोबिन्द नेपाल, खेम दाहाल लगायतका बाल, युवा र पाका कविले कविता, गीत, लघुकथा सुनाएका थिए ।

बाचित कवितामाथि समालोचक रमेश शुभेच्छुकले टिप्पणी गर्दै बालमनोविज्ञानमा केन्द्रित रहेर लेखिएका साहित्यले मात्रै सही दिशा समात्न सक्ने बताए । उनले नेपाली साहित्यलाई समृद्ध गर्न बालसाहित्यको विकासमा जोड दिनुपर्ने धारणा व्यक्त गरे । उनले भने, ‘नेपाली साहित्यको जग बलियो बनाउनका लागि बालसाहित्यका क्षेत्रमा सबै साहित्यिक संस्थाले काम गर्नुपर्दछ ।’

साहित्य सन्ध्याका सदस्य देबु लुइँटेल, जयन्ती स्पन्दन, उपाध्यक्ष रमेश पोखरेल र सदस्य रुपक अलंकारको व्यवस्थापनमा कार्यक्रम भएको थियो । सन्ध्याका अध्यक्ष राम विनयले बालसाहित्यलाई अझै परिष्कृत गर्नुपर्ने धारणा व्यक्त गरे । उनले भने, ‘बालमस्तिष्कमा सकारात्मक चीज भर्न सक्ने साहित्यको अपेक्षा नेपाली बालसाहित्यमा रहेको छ ।’ उनले सहभागी बाल, युवा तथा पाका कविलाई प्रमाणपत्र प्रदान गरेका थिए ।

प्रतिक्रिया