छाउनीमा चोरिएका मूर्ति

काठमाडौं । चोरीपछि बरामद गरिएका विभिन्न मूर्तिको प्रदर्शन भएको छ । काठमाडौंको छाउनीस्थित राष्ट्रिय संग्रहालयमा देशभित्र र बाहिर चोरी भई फिर्ता गरिएका मूर्ति प्रदर्शनीमा राखिएको हो । यी मूर्ति ऐतिहासिक तथा पुरातात्विक दृष्टिले निकै महत्वका रहेको संग्रहालयका प्रमुख जयराम श्रेष्ठले जानकारी दिए ।

प्रदर्शनीमा ३६ वटा मूर्ति राखिएको छ । तीन महिनासम्म चल्ने प्रदर्शनीमा नेपाली पुरातत्व र ऐतिहासिक मूर्ति राखिएको श्रेष्ठले बताए । संग्रहालयले हालसम्म ४५ वटा चोरी भएका मूर्ति बरामद गरेको छ ।  सम्पदाको चोरी रोक्न जनचेतना जगाउने लक्ष्यका साथ प्रदर्शनीको आयोजना गरिएको संग्रहालयले जनाएको छ । संग्रहालयको ८०औँ स्थापना दिवसको अवसर पारेर आयोजना गरिएको हो ।

नेपालका प्रथम प्रधानमन्त्री भिमसेन थापाले निर्माण गरेको छाउनीस्थित ऐतिहासिक भवनमा राणा प्रधानमन्त्री जुद्धशम्शेर राणाले सो संग्रहालयको स्थापना गरेका थिए । संग्रहालयले आफ्ना हराएका ऐतिहासिक महत्वका मूर्तिलगायतका सम्पदाको खोजी कार्यलाई तीव्रता दिएको छ ।  प्रमुख श्रेष्ठले नवौँ र दशौैँ शताब्दीमा बनाइएका ढुंगामा कतिपय मूर्तिहरू पनि हराएको उल्लेख गर्दैै खोजी भइरहेको जानकारी दिए । युनेस्कोले हराएका सम्पदाको खोजी गर्ने कानुन निर्माण गरेपछि नेपाल सरकारले आफ्नो मुलुकबाट चोरी भई बेलायत, अमेरिका र फ्रान्स पुगेका मूर्तिहरू फिर्ता गर्ने कामलाई सुरु गरेको हो ।

प्रतिक्रिया