आफ्नै बायोपिक निर्देशन गर्दै कंगना

एजेन्सी, मुम्बई । वेलावेलामा विवादमा आइरहने बलिउड अभिनेत्री कंगना रनावतले आफ्नो बायोपिकमा निर्माण हुने चलचित्र निर्देशन गर्ने भएकी छन् । पछिल्लो समय चलचित्र ‘मणिकर्णिकाः द क्वीन अफ झाँसी’ मा गरेको अभिनयका कारण उनी चर्चाको शिखरमा छन् ।

चलचित्रमा उनको अभिनयसँगै निर्देशनले समेत चर्चा बटुलिरहेको छ । यो चलचित्र कंगनाको डेब्यु निर्देशन हो । योसँगै बलिउडमा उनको निर्देशन यात्रा पनि सुरु भएको छ । उनले आफ्नो निर्देशन यात्रा मणिकर्णिकामै टुंग्याउने सुरमा छैनन् । उनले अब अर्को चलचित्र निर्देशनमा हात हाल्ने भएकी छन् ।

‘मणिकर्णिका’ का निर्देशक कृषसँग सुरूदेखि नै उनको विवाद भएपछि यो अवसर कंगनालाई जुरेको हो । निर्देशक कृषसँग विवाद भएपछि उनले बीचैमा काम छोडे । कृषले छाडेपछि कंगनाले निर्देशनको जिम्मा लिएकी थिइन् ।
दोस्रोपटक भने उनी आफ्नै चलचित्र निर्देशन गर्ने सुरुमा छन् । आफ्नै जीवनकथामा आधारित चलचित्रमा उनले अभिनयसँगै निर्देशन गर्ने भएकी हुन् ।

कंगना आफ्नो जीवनलाई चलचित्रमार्फत देखाउन चाहन्छिन् । उनको बायोपिकको स्क्रिप्ट ‘बाहुबली’ का लेखक केवी विजेन्द्र प्रसादले लेख्नेछन् । भारतीय सञ्चारमाध्यमका अनुसार यो चलचित्रको काम कंगनाका आगामी चलचित्र ‘पंगा र मेंटल है क्या’ पछि सुरु हुनेछ ।

कंगनाको बायोपिक भन्नेबित्तिकै धेरै प्रश्नहरू उठ्न थालेका छन् । उनको जीवनका पछिल्ला केही विवादित घटनाक्रम ताजै छन् । अभिनेता ऋतिक रोशनदेखि करण जौहरसम्म उनको बायोपिकका पात्र बन्ने जनाइएको छ । यिनीहरूबीचको विवाद अझै साम्य भएको छैन ।

यसबारेमा कंगना भन्छिन्, ‘यो सही हो, मेरो अर्को निर्देशन मेरो आफ्नै बायोपिक हुनेछ । तर, फिल्ममा कुनै पनि पात्रको नकारात्मक वा सकारात्मक छवि देखाएर सफाइ दिने वा दोषी देखाउने मेरो नियत छैन । यो फिल्ममा मेरो मनको नजिक भएका यात्राहरू देखाइनेछ । मेरा वरपर मलाई माया गर्ने धेरै मान्छे छन् । यो फिल्मले मेरो जीवनको उतार–चढाव देखाउनेछ ।’

अभिनेत्री कंगना र अभिनेता ऋतिकबीच लामो समयदेखि विवाद चलिरहेको छ । कंगनाले ऋतिकमाथि विवाह गर्ने बाचा गरेर टाढा भागेको, इमेल ह्याक गरेको लगायतका गम्भीर आरोप लगाएकी थिइन् । यसलाई ऋतिकले अस्वीकार गर्दै आएका छन् । यसै विषयले उनीहरूबीचको विवाद झनै चर्किंदै गयो । यसपछि बलिउडमा कंगना र ऋतिकका पक्षमा अलग–अलग मानिस निस्किए । यो मामिला अझै सेलाएको छैन ।

कंगनाले पछिल्लो समय बलिउडका बारेमा थुप्रै विषय खुलासा गर्दै आएकी छन् । उनको साहसलाई कतिपयले ‘आँटिली’ को संज्ञा दिँदै समर्थन गरेका छन् । त कतिपयले बेकारमा ‘बकबक’ र चर्चामा आउन गरेको हर्कत भन्ने आरोप पनि लगाएका छन् ।

जे भए पनि कंगनाले निर्देशन गर्ने आफ्नै बायोपिकमा के–कति विषय सार्वजनिक हुनेछन्, त्यो त चलचित्र रिलिजपछि नै बाहिर आउनेछ ।

प्रतिक्रिया