कर्णालीलाई राजधानीमै हेर्ने अवसर, कर्णाली एक्स्पो

काठमाडौं । समृद्ध कर्णाली अभियानको आयोजना र नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा कर्णाली प्रदेशको प्राकृतिक, सामाजिक तथा सांस्कृतिक पक्षलाई राष्ट्रमा चिनाउने उद्देश्यले काठमाडौंको भृकुटीमण्डपमा कर्णाली एक्स्पो सुरु भएको छ । शुक्रबारदेखि सुरु भएको उक्त एक्स्पोको नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले उद्घाटन गरे । सो अवसरमा मन्त्री पोखरेलले कर्णालीवासीहरू सुनको सिरानी हालेर सुत्ने तर नुनको खोजीमा भौतारिनुपर्ने अवस्था रहेको भन्दै उपलब्ध प्राकृतिक स्रोतहरूको समुचित प्रयोगद्वारा कर्णालीले आर्थिक समृद्धि हासिल गर्न सक्ने बताए ।

कार्यक्रममा पूर्व ऊर्जामन्त्री जनार्दन शर्माले कर्णाली प्रदेशको उत्पादन तथा संस्कृति एवं प्राकृतिक स्रोतहरूको प्रदर्शनीले कर्णाली प्रदेश चिनाउन थप सहयोग भएको गर्ने बताए । त्यस्तै, कर्णाली प्रदेशका पर्यटन, वन, वातावरण तथा उद्योग मन्त्री नन्दसिंह बुढाले कर्णालीलाई गरिबहरूको प्रदेशको रूपमा नभई अन्य प्रदेशसरह सबृद्ध बनाउन आफूहरू लागिपरेको बताए । कर्णाली अभियानका संयोजक उपेन्द्र शाहीले कर्णालीको अपूरो पक्षहरूलाई पूरा गर्नका लागि साथै कर्णालीवासीमा आत्मविश्वास जगाउने क्रममा उक्त एक्स्पो आयोजना गरिएको बताए ।

कर्णाली प्रदेश सरकारले यो वर्षलाई पर्यटन वर्षको रूपमा मनाइरहँदा कर्णालीका त्यस्ता सम्पदाहरूको प्रवद्र्धनका लागि गरिएको त्यस्ता कार्यक्रमहरू फलदायी हुने विश्वास आयोजकले लिएको छ । एक्स्पोका लागि प्रदेश सरकार, नेपाल पर्यटन बोर्ड र कर्णालीका नगरपालिका तथा गाउँपालिका तथा निजी संस्थाको सहकार्य भएको बताइएको छ । उक्त प्रदर्शनीमा १ लाख अवलोकनकर्ताको सहभागी हुने लक्ष्य लिइएको छ । कर्णालीका सकारात्मक पाटाहरूलाई सबैसामु ल्याउने उद्देश्यले कार्यक्रममा ‘कर्णाली प्रदेश विगत, वर्तमान समृद्धिका सम्भावना’ नामक पुस्तक विमोचन गरिएको थियो । गोरखनाथ बोगटीले लेखेको उक्त पुस्तकमा कर्णालीभित्र रहेका कुरालाई उक्त पुस्तक उतारेका छन् ।
कार्यक्रममा कर्णाली भित्रका १० वटै जिल्लाका प्राकृतिक तथा सम्पदाहरू तथा त्यहाँका मौलिक एवं अर्गानिक उत्पादन उत्पादनलाई प्रदर्शनमा राखिएको छ । एक्सपोमा ३२ वटा स्टल रहेका छन् । जसमध्ये कर्णालीको ४ वटा अर्गानिक खानाको स्टल र १ बेकरीसमेत छ । कर्णालीका मौलिक सांस्कृतिक, प्राङ्गारिक कृषि प्रदर्शन, रैथाने खानाको परिकारहरू, खसभाषा र सभ्यताको सत्र, कर्णाली प्रदेशका अमूल्य प्राकृति सम्पदा एवं बहुमूल्य जडिबुटीको फोटो, भिडियो र सन्दर्भ सामग्रीहरूको प्रदर्शनी र निजी क्षेत्रका स्टलहरू एक्स्पो पहिचानका वस्तुहरू रहेको आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया