लोपोन्मुख ‘रातो हाब्रे’ जोगाउन चुनौती

जुम्ला । विश्वको एक दुर्लभ स्तनधारी जनावर रातो हाब्रे (रेडपाण्डा) मानवीय गतिविधिका कारण पछिल्लो समय लोपोन्मुख अवस्थामा रहेको छ । चोरी सिकारी, वनजंगल फडानी, चेतनाको कमीलगायतका कारणले गर्दा लोपोन्मुख हाब्रे संरक्षण चुनौतीपूर्ण बन्दै गएको छ । पहिला घरआँगनमै देखिने हाब्रेलगायत अन्य दुर्लभ वन्यजन्तु हिजोआज जंगलमा पनि देखिन छोडेका छन् ।

हाब्रे नेटवर्कको समन्वयमा कर्णाली विकास हातेमालो सेवा समाज जुम्लाले सिञ्जा र पातारासी गाउँपालिकामा हाब्रे संरक्षणका लागि अभियानका रूपमा काम गर्दै आएको छ । एक सय ५० सामुदायिक वनसँग समन्वय गरी हाब्रेको संरक्षण गर्नुका साथै चोरी सिकारीलाई न्यूनीकरण गर्ने कार्य गरेको हो । सरकारले हाब्रे संरक्षणका लागि छुट्टै नीति बनाए तापनि अन्य जनावर जस्तै, हाब्रेलाई प्राथामिकता नदिँदा संकटमा परेको अनुसन्धानले देखाएको हाब्रे नेटवर्क अनुसन्धानकर्ता सरोज श्रेष्ठले बताए ।

उनले हाल नेपालमा ५ सय मात्रै हाब्रे छन् भने ४३ प्रतिशत हाब्रेको वासस्थान कर्णालीमा रहेको अनुसन्धानले देखाएको बताए । अनुसन्धान अनुसार जुम्लाका गिडिखोला, देपालगाउँ, ताम्ती, पातारासी, रियालगायत क्षेत्रमा आवश्यक वासस्थान उपयुक्त रहेको अर्का अनुसन्धानकर्ता प्रगति शाहीले बताए । वन्यजन्तुको चोरी सिकारी पछिल्लो समय बढ्दै गएको तर दण्ड सजाय नहुनु प्रमुख समस्याका रूपमा देखिएको छ । मानवीय आवश्यकता परिपूर्ति गर्नका लागि वनजंगल विनाश भए तापनि चोरी सिकारी नै प्रमुख समस्याका रूपमा देखिएको अनुसन्धानकर्ताको भनाइ छ ।

नेपालका २४ वटा जिल्लामा मात्र हाब्रे पाइन्छन् । वन्यजन्तुको चोरी सिकारीलाई न्यूनीकरणका लागि पत्रकार, नेपाल प्रहरी, स्थानीय सरकारले विशेष गरी अभियान चाल्नुपर्नेमा आवश्यकता देखिएको छ । हाब्रे संरक्षणका लागि वैज्ञानिक वन व्यवस्थापनलाई अघि बढाउनुपर्ने डिभिजन वन कार्यालय जुम्लाका वन अधिकृत निरोज झाले बताए । अझै पनि अधिंकाशमा चेतनाको कमी छ । हाब्रे मार्दा केही हँुदैन भन्ने सोच पनि छ । वन्यजन्तुको संरक्षणका लागि सबै जिम्मेवार बनाउन विशेष अभियान आवश्यक रहेको उनको भनाइ छ । हाब्रेको चोरी सिकारीमा संग्लनलाई एकदेखि १० वर्ष कैद र एक देखि पाँच लाखसम्म जरिवाना वा दुवै सजाय हुने कानुनी व्यवस्था रहेको छ ।

प्रतिक्रिया