५० स्थानीय तहमा बैंकका शाखा पुगेनन्

काठमाडौं । हरेक स्थानीय तहमा बैंकका शाखा पु¥याउने सरकारको लक्ष्य पूरा हुने चरणमा पुगेको छ । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको चालू आर्थिक वर्षको पछिल्लो ६ महिनाको विवरणअनुसार कुल ७ सय ५३ स्थानीय तहमध्ये ७ सय ३ स्थानीय तहमा बैंकका शाखा पुगेका छन् । नागरिकलाई वित्तीय पहुँच पु¥याउने लक्ष्यका साथ सरकारले बैंकको शाखा विस्तारलाई प्रमुख प्राथमिकतामा राखेको छ । बाँकी रहेको ५० स्थानीय तहमध्ये चालू आर्थिक वर्षको अन्त्यसम्म धेरैजसो स्थानीय तहमा बैंकका शाखा पुग्ने विश्वास व्यक्त गरिएको छ ।
केन्द्रीय बैंकका अनुसार प्रदेश–१ का कुल १ सय ३७ स्थानीय तहमध्ये चालू आवको ६ महिनासम्ममा १ सय २७ तहमा बैंकका शाखा पुगेका छन् । सो प्रदेशमा अझै दश स्थानीय तहमा बैंकका शाखा पुग्न बाँकी रहेका छन् । प्रदेश–२ का १ सय ३६ स्थानीय तहमध्ये हालसम्म १ सय ३३ स्थानीय तहमा बैंकका शाखा खुलेका छन् । सो प्रदेशका तीन वटा तहमा मात्रै बैंकका शाखा पुग्न बाँकी रहेका छन् । प्रदेश–३ का ११९ तहमध्ये चालू आवको ६ महिनामा १ सय १३ स्थानीय तहमा बैंकका शाखा पुगेका छन् । सो प्रदेशमा ६ स्थानीय तहमा मात्रै बैंकका शाखा खुल्न बाँकी रहेको राष्ट्र बैंकको तथ्यांकमा समावेश छ ।

गण्डकी प्रदेशका कुल ८५ तहमध्ये ८२ स्थानीय तहमा बैंकका शाखा खुलेका छन् । सो प्रदेशका तीन स्थानीय तहमा नै बैंकका शाखा खुल्न बाँकी रहेका छन् । प्रदेश–५ का कुल १ सय ९ स्थानीय तहमध्ये १ सय ७ स्थानीय तहमा बैंकका शाखा खुलेका छन् । कर्णाली प्रदेशका ७९ स्थानीय तहमध्ये ६३ स्थानीय तहमा बैंकका शाखा खुलेका छन् । बैंककाअनुसार सुदूरपश्चिम प्रदेशका कुल ८८ स्थानीय तहमध्ये ७८ तहमा बैंकका शाखा खुलेका छन् । केही दिन पहिले प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री युवराज खतिवडाले बैंकका शाखा नपुगेका स्थानीय तहमा चालू आवको अन्त्यसम्ममा बैंकका शाखा पु¥याउने लक्ष्यअनुसार काम भइरहेको जानकारी दिए ।

वित्तीय स्थायित्व सुदृढीकरण गर्ने लक्ष्यका साथ राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई गाभ्ने तथा प्राप्तिसम्बन्धी प्रक्रिया सुरु गरेपछि गत पुस मसान्तसम्म कुल १ सय ६४ बैंक तथा वित्तीय संस्था गाभिएका छन् । त्यसमा कुल १ सय २२ संस्थाको इजाजत खारेज भई कुल ४२ मा सीमित भएका छन् । गत पुस मसान्तसम्म २८ वाणिज्य बैंक, ३३ विकास बैंक, २४ वित्त कम्पनी, ७२ लघुवित्त संस्था सञ्चालनमा रहेका छन् । बैंक तथा वित्तीय संस्थाको शाखा ०७५ असारमा छ हजार ६ सय ५१ रहेकोमा पुस मसान्तसम्म सात हजार ५ सय ९१ पुगेको छ ।

प्रतिक्रिया