कस्मिर आक्रमण : सुरक्षा फौजको कमजोरीका कारण !

एजेन्सी, नयाँदिल्ली । भारतीय सुरक्षा फौजको कमजोरीकै कारण लडाकु समूहले कश्मीरको पुलवामामा ठूलो मानवीय क्षति हुनेगरी आक्रमण गर्न सकेको भारतीय सेनाबाट अवकाश पाएका एक वरिष्ठ सैन्य अधिकारीले बताएका छन् ।
भूतपूर्व लेफ्टिनेन्ट जनरल शक्ति गुरुङका अनुसार त्यस क्षेत्रमा केही दिनयता सुरक्षाकर्मीहरूको गतिविधि बढिरहेको थियो र त्यसैले विद्रोही समूहलाई सेन्ट्रल रिजर्भ पुलिस फोर्स भनिने अर्धसैन्य फौजका सदस्यहरू चढेको गाडीको लस्करलाई निसाना बनाउन सजिलो भयो ।

एकजना आत्मघाती आक्रमणकारीले बिहीवार विस्फोटक पदार्थ भरिएको गाडी सिआरपीएफको गाडीमा जोतिदिएका थिए । विस्फोटनमा परेर कम्तीमा ४६ जनाको मृत्यु भएको छ ।

भारतीय सुरक्षाकर्मीहरूलाई लक्ष्य गरिएको सो आक्रमणबारे उनले बिबिसी नेपाली सेवासँग भने, ‘यो हमला सुरक्षा कमजोरीको कारण भएको हो, गुप्तचर निकायको विफलताका कारण भएको हो ।’

देहरादुन निवासी गुरुङ त्यहाँको गोर्खाली सुधार सभा नामक सामाजिक संस्थामा पनि सक्रिय छन् । गुरुङले भने, ‘राजमार्ग नखुलेर सुरक्षाकर्मीहरू जम्मुमा थुप्रिएका थिए । त्यसैले, त्यस क्षेत्रमा केही समयअघिदेखि सुरक्षाकर्मीको गतिविधि निकै बढेको थियो । त्यस्तो वेला हाम्रो सुरक्षा छिद्र र कमजोरीहरूको फाइदा उठाएर कायरतापूर्ण हमला गरेका छन् ।’

‘त्यत्रो धेरै विस्फोटक पदार्थ राखिएको मोटर कसरी राजमार्गमा पुग्यो ? यो सुरक्षा कमजोरीकै कारण भएको हो ।’ गुरुङका विचारमा यो आक्रमण गम्भीर प्रकृतिको भए पनि त्यसले भारतको समग्र सुरक्षा व्यवस्थामा खासै फरक पार्दैन ।
उनले भने, ‘हेर्नुहोस् पछिल्लो समयमा भारतीय सुरक्षा फौजले उनीहरूका धेरै सदस्य तथा कमान्डरहरूलाई निसाना बनाएको थियो । अहिले उनीहरूले यो आक्रमण गरेर आफ्ना लडाकुको आत्मबल बढाउने र आफ्नो सक्रिय उपस्थिति अझै रहेको छ भनेर देखाउन खोजिरहेका छन् ।’

उनका अनुसार कस्मिरमा भएको यो आक्रमणपछि भारत सरकार र भारतीय सुरक्षा निकायहरूले अनुसन्धान गर्नेछन् र आफ्ना क्रियाकलापहरूको समीक्षा गर्नेछन् । उनले भने, ‘अब कहाँ कहाँ सुरक्षा कमजोरी भयो त्यसको अनुसन्धान हुन्छ ।’

भारतमा निर्वाचन हुनुभन्दा केही साताअघि यो आक्रमण भएको छ । यसले निर्वाचनमा प्रभाव पार्न सक्ने कतिपयको आकलन छ । तर, शक्ति गुरुङ भने त्यससँग सहमत छैनन् ।  उनले भने, ‘यसको राजनीति वा चुनावसँग कुनै सम्बन्ध छ जस्तो मलाई लाग्दैन ।’ पुलवामामा आक्रमण भएपछि भारतीय सुरक्षा फौजले तत्कालै कुनै प्रत्याक्रमण गर्न सक्ने सुरक्षाविद्हरूको अनुमान छ ।

पुलवामा आक्रमणपछि सुरक्षा व्यवस्थाका लागि बसेको बैठकपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय सुरक्षा निकाय आवश्यक सुरक्षा कारबाहीका लागि स्वतन्त्र रहेको बताइसकेका छन् । त्यसैले छिट्टै कुनै आक्रमण हुन सक्ने अनुमान गरिएको छ । गुरुङले भने, ‘भारतीय फौजले विद्रोहीविरुद्ध प्रत्याक्रमण गर्नुअघि आफ्नो कमजोरीको अनुसन्धान र समीक्षा गर्नु पर्ला नि ।’ उनका विचारमा पछिल्लो आक्रमणपछि भारतीय सुरक्षा निकायहरूले पाठ भने सिकेका छन् । सबैभन्दा महत्वपूर्ण पाठ हो सुरक्षा व्यवस्थाको समीक्षा गर्नु र सुरक्षा व्यवस्थामा भएका छिद्रहरू टाल्नु ।

ठूलो मूल्य चुकाउनु : मोदी
कस्मिरमा केही वर्षयताकै सबभन्दा घातक भनिएको आक्रमणबारे बोल्दै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले त्यसमा संलग्नहरूलाई दण्ड दिइने बताए । उक्त घटना भएको भोलिपल्ट बोल्दै उनले भने, ‘म देशलाई यो विश्वास दिलाउन चाहन्छु कि, आक्रमणका पछाडि जुन शक्ति छ, जो अपराधी छन् तिनलाई अवश्य सजाय मिल्नेछ ।’

भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंह र विपक्षी दल कांग्रेसका अध्यक्ष राहुल गान्धीले पनि सो घटनाको निन्दा गरेका छन् । दिल्लीको रेलवे स्टेसनमा नयाँ रेल सेवा उद्घाटनको कार्यक्रममा बोल्दै मोदीले भने, ‘यो समय एकदमै संवेदनशील र भावुक क्षण हो । पक्ष वा विपक्ष, हामी सबै राजनीतिबाट टाढा रहौँ ।’

‘यो आक्रमणविरुद्ध देश एकजुट भएर मुकाबिला गरिरहेको छ । देश एकताबद्ध छ । देशको एउटै स्वर छ र यही स्वर विश्वमा सुनिनु पर्छ किनकि, यो लडाइँ हामी जित्नका निम्ति लड्दै छौँ ।’

मोदीले पाकिस्तानप्रति संकेत गर्दै भने, ‘संसारभरि एक्ल्याइएको हाम्रो छिमेकी देश यदि यो ठान्छ कि ऊ भारतमा अस्थिरता उत्पन्न गर्न सफल हुन सक्छ भने उसले त्यो सपना देख्न छाडिदेओस् । नराम्रो अवस्थाबाट गुज्रिरहेको हाम्रो छिमेकीले यस्तो वितण्डा मच्चाएर भारतलाई अस्तव्यस्त पार्ने प्रयास पूरा हुने छैन ।’

उनले आतंकवादविरुद्ध सबै मानवतावादी शक्तिहरू एक भएर लड्नुपर्ने बताए । पाकिस्तानले भने सो घटनामा आफू संलग्न नभएको दाबी गरेको छ । उसले सो घटना गम्भीर चिन्ताको विषय भएको बताएको छ ।

प्रतिक्रिया