कविता – ढोँगी प्रवृत्ति

तुम्बेहाङ लिम्बू


उसले
खरो रूपमा नारी सम्मानको कुरा राख्छ
तर, माइक्रोफोनमा मुख टाँसिरहँदा
आँखा भने नियन्त्रणबाहिर किन जान्छ ?
जब कि ऊ डायसमै उभिरहेको हुन्छ ।
उसले
पटक–पटक नारी अस्मिताको कुरा उठाउँछ
ओठको कविता, परेलीको गजल
नितम्बको विम्बात्मक गीत
यी कुराहरू विरुद्ध
खरो आलोचना गरिरहेको हुन्छ ।
तर, डायसमा ऊ कुर्लीरहेको वेला
किन, उसको नजर
किशोरीहरूको यौवदानमा दुर्घटनाग्रस्त हुन्छ ?
उसले
ठूला (ठूला छापाहरूमा
नारी सम्मान र
सांस्कृतिक बिचलनको कुरा लेख्छ ।
केटी जिस्क्याउने,
नारी होच्याउने विरुद्ध
कलमको धार सोझ्याइरहेको हुन्छ ।
तर, अक्षरका सालीन पत्रहरूमा
हरफका मधुरा विम्बहरूमा
विचार सम्प्रेषणका
कलात्मक प्रतीकहरूमा
किन, उसको मनोविज्ञान
यौवन र यौनिकताको
अब्स्ट्रयाक चित्र बनाउँछ ?
किन, आफैले आफैलाई
मनमनै आत्मसमीक्षाको
कठघरामा उभ्याउँछ ?
जब–जब म यस्तो देख्छु,
सायद, यहीवेला पो मनभरि
घृणाको पहाड चुलिएको हो कि !
सायद यहीवेला
पो मानव प्रवृत्तिविरुद्ध
आक्रोशको खहरे उर्लिएको हो कि !
यस बखत मलाई
आत्म समीक्षाको कठोर
भट्टिमा पस्न मन लागेको छ
सायद यहीवेला
पो ढोँग र पाखण्डपनको
चिनियाँ पर्खाल
तोड्न मन लागेको हो कि !

प्रतिक्रिया