लघुकथा – विशाल लोहनी ‘सुस्केरा’

‘रोजी, आज ‘भ्यालेन्टाइन डे’ सँगै मनाऊँ है’
‘हुन्छ बरु कहाँ जाने कतिवेला ?’
‘जता लगे नि आजको रात मसँग है’ भनेर फोन काटे मैले ।
दिउँसोको दुई बजेको छ । मैले होटलको रुम बुक गरिसकेको थिएँ । हेर्दै स्वर्गकी परी जस्तै हातमा गुलाबको फूल लिएर आइन् मेरी रोजी । मनमा कता–कता प्यास बढ्यो धड्कन बढेजस्तो भो पहिलो भ्यालेन्टाइन मनाउँदै गर्दा ।
‘ह्याप्पी भ्यालेन्टाइन राजा’ भन्दै गुलाब दिँदा उनको हात छटाउनै चाहिनँ मैले ।
‘जाऊँ रुममा’
‘किन’
‘गफ गर्न नि किन हुन्छ, अरू ?’
‘गफ यतै बसेर गर्न हुन्न ’
‘अरू मान्छे पनि छन् नि ! मनको कुरा सबै खोल्न सकिन्नँ नि ।’
बल्ल रुममा जान तयार भइन् ।
रुममा छिरेपछि मैले हतारमा छेस्किनी लगाएँ ।
‘रोजी तिमी मलाई माया कति गछ्र्यौ ?’
‘आफूलाईभन्दा धेरै !’
मैले, उनलाई अँगालोमा बेर्न खोजेँ । उनी तर्किन खोजिन् ।
‘यो सबै बिहेपछि है राजा ।’
‘किन आज के भो हामी एकाकार हुनलाई ? कि मेरो आसय बुझिनौ ?’
‘मैले सबै बुझिसकेकी छु तिम्रो मन । आज मेरो शरीर भोग गर्नलाई छ । मेरो अस्मिता डगी सकेपछि मलाई आफ्नो बनाउँछौ या बनाउँदैनौ ?’
‘विश्वास गर न प्लिज ।’
‘भोलि म तिम्रो हुन नसके मैले मेरो मनलाई के भनेर सम्झाउने ? बरु म तिम्रो प्रेमलाई तिलाञ्जलि दिन्छु अस्मिता डगाउँदिन ।’
उनी ढोका खोलेर गइन्, मलाई थकथकी लागिरह्यो ।

प्रतिक्रिया