महिला राष्ट्रिय क्रिकेट टोलीको घोषणा

काठमाडौं । थाइल्यान्डमा हुने आइसिसी महिला ट्वान्टी–२० विश्वकपअन्तर्गत एसिया क्षेत्र छनोटका लागि नेपाली महिला राष्ट्रिय टिमको घोषणा भएको छ ।  आगामी फेब्रुअरी १८ देखि २७ तारिखसम्म थाइल्यान्डमा हुने छनोटका लागि शुक्रबार रुविना क्षेत्रीको कप्तानीमा १४ सदस्यीय टोलीको नाम सार्वजनिक गरिएको हो । राष्ट्रिय टोलीमा पहिलोपटक अप्सरी बेगमले स्थान बनाउँदा यसअघि टिममा रहेकी डोली भट्ट भने बाहिरिएकी छन् ।

गत महिनामा थाइल्यान्डमै भएको अन्तर्राष्ट्रिय प्रतियोगितामा डोली टिममा थिइन् । डोलीसँगै अञ्जली चन्द, रितुकुमारी कोनुजिया र सुमन विष्टलाई वैकल्पिक खेलाडीका रूपमा राखिएको छ ।  रुबिनाको कप्तानीमा रहेको राष्ट्रिय टिममा सीता रानामगर (उपकप्तान), करुणा भण्डारी, सरिता मगर, नेरी थापा, इन्दु बर्मा, सोनु खड्का, आरती बिडारी, काजल श्रेष्ठ, रोमा थापा, कविता कुँवर, ममताकुमारी चौधरी र विन्दु रावल छन् ।

नेपाली टोली शनिबार त्यसतर्पm प्रस्थान गर्नेछन् । नेपाली टोलीको मुख्य प्रशिक्षक विनोद दास, सहायक प्रशिक्षकमा निरा राजोपाध्याय, टिम व्यवस्थापकमा अमृता पौडेल र फिजियोमा सकुन दानी छन् । नेपालले पहिलो खेल मलेसियाविरुद्ध १९ फेब्रुअरीमा खेल्नेछ ।

नेपालले दोस्रो खेल २१ तारिखमा थाइल्यान्डसँग, तेस्रो खेल २२ तारिखमा संयुक्त अरब इमिरेट्स (युएई) र २४ तारिखमा हङकङविरुद्ध चुनौती प्रस्तुत गर्नेछ । नेपालले पाँचौं खेल २५ तारिखमा चीनसँग र अन्तिम खेल २७ तारिखमा कुवेतसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया