ससुरालीको च्याउको स्वादले भेरिएका रमेश

ताप्लेजुङ । विगत सात वर्षदेखि व्यावसायिक रूपमा च्याउ खेती गर्दै आएका ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाका कृषक रमेश राईले मुस्कुराउँदै भने, ‘ससुरालीमा पाहुना जाँदा च्याउको स्वाद लिएपछि च्याउ खेती गर्ने सोच पलाएर आयो, त्यो वेलादेखि नै च्याउ खेती सुरु गरेँँ, सुरुमा लगानी डुब्ला कि भन्ने चिन्ता थियो, अहिले उपभोक्ताको माग अनुसार नपुर्याइएला कि भन्ने पिर छ ।’

राईले सदरमुकाम फुङलिङमा झन्डै तीन रोपनीभन्दा बढी जग्गा भाडामा लिएर च्याउ खेती गरेको सात वर्ष नाघ्यो । सुरुमा आफ्नो उत्पादनले बजार नपाउने पो हो कि भन्ने चिन्ता खेपिरहेका राईले क्रमशः माग बढ्दै गएपछि खेती विस्तार गर्दै गए र अहिले च्याउ खेतीबाट नै मासिक लाखौँ रुपैयाँ बराबरको आम्दामी हुनथालेपछि निकै उत्साहित बनेको राई बताउँछन् ।

‘महिनामा झन्डै एक लाख बढीको आम्दानी हुन्छ, त्यहि आम्दानीले परिवार पालेको छु, अरू तीन जनालाई रोजगारी पनि दिएको छु, मिहिनेत गर्दा हुने रहेछ भन्ने विस्वास छ’, राईले भने । ठाउँ अनुसार मिहिनेत गर्नसके युवाहरू विदेश पलायन हुनुपर्ने अवस्था नआउने राई बताउँछन् । ‘पहिले मेरो आम्दानीको स्रोत केही थिएन, के गर्ने के नगर्ने भन्ने पिरलो थियो, तर जब व्यावसायिक च्याउ खेती गरेर मिहिनेतका साथ काम गरेँ, राम्रो आम्दानी लिन थालेको छु, मालिक पनि आफैँ, कामदार पनि आफैँ, कमाई पनि आफ्नै भएपछि स्वदेशमै मिहिनेत गर्नुको मज्जा बेग्लै छ’, राई भन्छन् ।

सुरुमा च्याउ खेतीका लागि पूर्वाधार तयार गर्न निकै झन्झट भए पनि त्यसपछि भने समस्या नहुने पनि उनले सुनाए । उनले आधा दर्जन घरहरू बनाएर पराले र सिताके दुई थरिका च्याउ उत्पादन गर्दै आएका छन् ।

सुरुमा पराले च्याउ मात्रै उत्पादन गर्दै आएका राईले उपभोक्ताको मागअनुसार पछिल्लो समयमा सिताके च्याउसमेत उत्पादन गर्न थालेका हुन् । आफूले उत्पादन गरेको च्याउ स्थानीय बजारदेखि झापा, धरान, काठमाडांैसम्म पुग्ने गरेको राईले बताए । स्थानीय बजारमा पराले च्याउ प्रतिकिलो दुई सयदेखि २ सय ५० रुपैयाँमा र सिताके च्याउ ६ सय रुपैयाँ सम्ममा बिक्री हुने गरेको राइको भनाई छ ।

दैनिक १५-२० किलोसम्म च्याउ टिपेर बजारसम्म पुयाउने गरेको उनले बताए । पहिलेको तुलनामा आजकल च्याउ खाने उपभोक्तासमेत बढ्दै गएको समेत उनको अनुभव छ । विभिन्न समयमा च्याउ खेतीसम्बन्धी तालिम लिएर च्याउ खेती गर्दै आएका राईले आपूmसँग लामो अनुभव भएको सुनाउँदै कसैले सिक्न चाहे सहयोग गर्न पनि तत्पर रहेको बताए ।

च्याउ खेतीबाट ठूलो सम्भावना देखेका उनले राज्यले च्याउ खेती गर्ने किसानका लागि लगानी गरे च्याउ खेतीको प्रवद्र्धनमा टेवा पुग्ने बताए । नेपालमा उत्पादित च्याउलाई अन्तराष्ट्रिय बजार सम्म पु¥याउन सकिने उनको भनाइ छ । पराले च्याउ उत्पादन गर्न परालकै प्रयोग गरिन्छ भने सिताके च्याउका लागि भने उत्तिस, कटुस लगायतका मुढा चाहिन्छ । सिताके च्याउ उत्पादन गर्न खर्च पनि लाग्ने र समयसमेत लाग्ने भएकाले अन्य च्याउको तुलनामा महँगो पर्ने कृषकहरू बताउँछन् ।

प्रतिक्रिया