प्रहरको गजल साँझ

भक्तपुर । साँझ ढल्किँदै गर्दा भक्तपुरका युवा गजलकार विकास प्रहरको ‘पाँचाँै एकल गजल साँझ–२०७५’ मा सम्पन्न भएको छ । उनले गजलका शेर वाचन गरिरहँदा सहभागीहरू मन्त्रमुग्ध भएका थिए । गजलका पारखी, साहित्यकार, कलाकार, पत्रकारको जमघटले रात छिप्पिँदै जाँदा प्रहरका गजलले सहभागीलाई नतमस्तक बनाएको थियो ।

त्रिपुरा न्यूज साप्ताहिकद्वारा आयोजित युवा गजलकार प्रहरको सामाजिक विकृति र विसंगतिको चिरफार, देशप्रेम, राजनीतिक, मानवतावादी तथा समसामयिक धारका शृङ्गारिक लगजलमा सहभागीहरू मन्त्रमुग्द भएका थिए ।प्रहरका एक दर्जन संगीतबद्ध गजल गायक राज सागरले गाएका थिए । उनको आवाजले सांगीतिक माहोललाई अझै तताएका थिए । साहित्यिक जमघट तथा एकल साहित्यिक वाचन नगन्य रूपमा हुने गरेकामा प्रहरको कार्यक्रममा भने भक्तपुर, काठमाडौं, ललितपुर, काभ्रेका स्रष्टा एवं गजल पारखीको सहभागिता थियो ।

नेपालको शैक्षिक प्रणाली र अस्थिर राजनीतिक क्रियाकलापले बेरोजगारी बढेको र युवा विदेशिएकामा प्रहरले चिन्ता व्यक्त गर्दै नेपालप्रतिको माया गजलमार्फत यसरी दर्साए । उनले राजनीति र युवाको विदेश मोहप्रति समेत चोटिलो व्यंग्य गर्दै गजल सुनाउँदा हल तालीले गुञ्जिएको थियो ।

अर्का युवा गजल गायक राज सागरले सात गजल गाएर त्यस माहोललाई अझै रौनक बनाएका थिए । गायक सागरलाई गायनमार्फत गायिका अञ्जु श्रेष्ठले साथ दिएकी थिइन् । सागरका गजलमा ‘रक्तलाली पोतिएको अधर जाली तिम्रो, मुटु रेट्न छुरा ताक्ने नजर जाली तिम्रो’ श्रव्यदृश्यसमेत सार्वजनिक गरिएको थियो ।

गजल मञ्चका अध्यक्ष बलराम दाहालले नेपालमा गजल गायन र वाचनको विकास अझै हुन नसकेको अवस्थामा यस्तो कार्यक्रमले गजलमा लाग्नेलाई प्रेरणा मिल्ने बताए । उनले भने, ‘नेपालमा गजलले पछिल्लो समय प्रभाव जमाउँदै गएको छ । यसमा गजलकारको भूमिका विशिष्ट रहेको छ ।’

प्रतिक्रिया