कार्की दिदीबहिनीको आत्मकथा

कास्की । पर्यटन क्षेत्रमा साढे दुई दशकदेखि सक्रिय तीन दिदीबहिनीको आत्मकथा बजारमा आएको छ । पोखराको पर्यटन क्षेत्रमा आबद्ध रहेर आफ्नो बेग्लै परिचय स्थापना गर्न सफल दिदीबहिनी लक्की, डिक्की र निक्की कार्कीले लेखेको आत्मकथा ‘हामी थ्री सिस्टर्स’ को नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति सरुभक्तले विमोचन गरे ।

लेखकत्रयकी आमा लीलामायाको वार्षिक पुण्यतिथिको अवसर पारे र आयोजित श्रद्धाञ्जलि कार्यक्रममा सरुभक्तले उक्त कृतिले जीवनको असहज मोडलाई पार लगाएर मिहिनेत र आत्मविश्वासले कसरी सफलता हासिल गर्न सकिन्छ भन्ने सन्देश दिएको बताए । निबन्धकार युवराज नयाँघरेले पर्यटन क्षेत्रमा रहेर लेखिएको सो पुस्तकमा इमान्दारिताका भेटिएको बताए । उनले भने, ‘पछिल्लो समय धेरैले आत्मकथा रुचाउन थालेकाले यस कृतिले पनि नयाँ पुस्तालाई प्रेरणा प्रदान गर्ने विश्वास लिएको छु ।’

उनले नेपाली पर्यटनलाई बुझ्न कृति निकै उपयोगी रहेको जिकिर गरे । कृति लेखक लक्कीले आमाको प्रेरणा तथा साथ र सहयोगले यस क्षेत्रका हरेक चुनौतीलाई पार लगाउन सफल भएको सुनाइन् ।  कार्यक्रममा तीन दिदीबहिनीको अभिभावकको भूमिका निर्वाह गर्दै निरन्तर सहयोग र सद्भाव प्रदान गरेवापत पर्यटन व्यवसायी नीलकण्ठ शर्मा र नेपाल पर्यटन बोर्डका पूर्वसञ्चालक समितिका सदस्य वासु त्रिपाठीलाई थ्रि सिस्टर्स सम्मान दिइएको थियो ।

प्रतिक्रिया