अयोग्य ठहरिएपछि उबालरत्न दुखी

बैंकक । थाइल्यान्डका राजाकी दिदीले प्रधानमन्त्रीको निर्वाचनमा उठ्ने घोषणा गर्दा विवाद सिर्जना भएका कारण आफू दुःखित भएको बताएकी छन् ।

निर्वाचन आयोगले सोमवार उनलाई सो निर्वाचनका लागि अयोग्य घोषित गरिदिएपछि राजकुमारी उबोलरत्न महिडोनले ‘आजको दिन र युगमा त्यस्तो समस्या हुनु नहुने’ भन्दै दुःख मनाउ गरेकी हुन् ।

उनले निर्वाचनका लागि मनोनयन गर्दा थाई राजपरिवार सक्रिय राजनीतिभन्दा पर बस्ने परम्परा भंग भएको थियो । राजा वाचिरालकंनले आफ्नी दिदीको निर्वाचनमा सहभागी हुने निर्णयलाई ‘अत्यन्त अनुपयुक्त’ भनेका थिए ।

राजकुमारी उबोलरत्नले आफ्नो इन्स्टाग्राममा लेखेकी छन्, ‘देश र हामी थाईहरूका लागि काम गर्ने मेरो उद्देश्यले समस्या उत्पन्न गरेकोमा म दुःखित भएकी छु जुन (समस्या) यो दिन र युगमा हुनु हुँदैनथ्यो ।’ यो सन्देशसँगै उनले प्रेषित गरेको बगैँचाको तस्बिरमा ह्याश्ट्याग #HowcomeltsTheWayltls पनि छ ।

राजनीतिमा तरंग

राजपरिवारका सबै सदस्यहरू ‘राजनीतिभन्दा माथि बस्नुपर्ने र राजनीतिक रूपमा तटस्थ हुनुपर्ने’ प्रावधान रहेको भन्दै थाईल्यान्डको निर्वाचन आयोगले राजकुमारी उबोलरत्नको नाम निर्वाचनका लागि समावेश नगरिने जनाएको थियो ।

निर्वाचन आयोगको भनाइ राजदरबारको विज्ञप्तिपछि आएको थियो । विज्ञप्तिमा भनिएको थियो, ‘राजपरिवारकी एक वरिष्ठ सदस्य राजनीतिमा सहभागी हुनु…. अत्यन्त अनुपयुक्त मानिन्छ ।’ प्रधानमन्त्रीको निर्वाचनमा उम्मेदवार बन्ने घोषणा राजकुमारी उबोलरत्नाले शुक्रवार गर्दा थाई राजनीति पूरै तरंगित भएको थियो ।

उनी थाईल्यान्डका विवादित भूतपूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्राको दलबाट प्रधानमन्त्रीको उम्मेदवार चयन भएकी थिइन । अहिले निर्वाचन आयोगले सो दल थाई रक्सा चाट पार्टीलाई प्रतिबन्ध लगाउनेबारे विचार गरिरहेको छ । सो दलका नेताले राम्रो उद्देश्यले राजकुमारीलाई निर्वाचनमा उठाइएको बताउँदै भनेका छन्, ‘हामीभन्दा माथि राजा र राजसंस्था छन् । अनुसन्धानका लागि हामी तयार छौ ।’

सन् २०१४ मा वर्तमान प्रधानमन्त्री प्रायुथ जन–ओचाले सैनिक विद्रोहबाट निर्वाचित सरकारलाई अपदस्थ गरेपछि आगामी मार्च महिनामा पहिलो पटक निर्वाचन हुन लागेको हो । प्रधानमन्त्री प्रयुथ जन–ओचा पनि निर्वाचनमा उम्मेदवार छन् ।

राजकुमारीलाई अघि सारेर विपक्षीले सेनालाई सत्ताबाट हटाउने योजना बुनेको आकलन यसअघि गरिएको थियो । राजकुमारी उबोलरत्ना सन् १९५१ मा स्वर्गीय राजा पुमिपोन अदुन्यदेतको पहिलो सन्तानको रूपमा जन्मिएकी थिइन् ।

उनले म्यासचुसिट्स इन्स्टिट्युट अफ टेक्नोलोजीमा अध्ययन गरिन् । सन् १९७२ मा अमेरिकी नागरिकसँग विवाह गर्न राजपरिवार त्यागेकी थिइन् । पतिसँग पारपाचुके गरेपछि उनी सन् २००१ मा थाईल्यान्ड फर्किएर राजपरिवारका कार्यक्रममा सहभागी हुन थालेकी थिइन् ।

उनी सामाजिक सञ्जालमा सक्रिय छिन् र केही थाई चलचित्रहरूमा पनि देखिएकी छिन् । उनको तीन सन्तानमध्ये एक जनाको सन् २००४ को सुनामीमा मृत्यु भएको थियो ।

प्रतिक्रिया