रोली बिहीबार नेपाल आउँदै

काठमाडौं । विश्व बडिबिल्डिङका हस्ती रोली विङ्कलार बिहीबार नेपाल आउने भएका छन् ।  नेपाली खेलकुदमा पहिलो पल्ट आयोजना हुन लागेको ‘आइएफबिबी प्रोफेसनल लिग नेपाल बडिबिल्डिङ च्याम्पियनसिप–२०१९ (प्रो क्वालिफायर)’ को गेस्ट पोजरका रूपमा रोली आज दिउँसो ४ बजेर १० मिनेट नेपाल आउँदैछन् ।

बुधबार पर्यटन बोर्डमा आयोजित पत्रकार सम्मेलनमा आयोजक आइएफबिबी लिग नेपालका अध्यक्ष सानु गुरुङले रोली इतिहाद एयरलाइन्सबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने जानकारी दिए । रोली विश्व बडिबिल्डिङमा सबैभन्दा ठूलो ज्यान भएका खेलाडी हुन् ।

उनको हातको पाखुरा मात्र २४ इन्च, छाती ६० र थाई ४८ इन्चको छ । सोसल मिडिया इन्स्टाग्राममा १२ लाख मानिसले उनलाई पछ्याउँछन् । रोली यो वर्ष पहिलो पल्ट नेपालमा देखा पर्न लागेका हुन् । उनी वर्षमा १–२ पल्ट मात्र प्रतियोगिताको अवसरमा सार्वजनिक रूपमा देखा पर्छन् ।

नेपालमा उनी आइएफबिबी प्रोफेसनल लिगको ‘प्रो क्वालिफायर’ मा ‘गेस्ट पोजर’ को रूपमा देखा पर्न लागेका हुन् । प्रतियोगितामा विश्वका १५ राष्ट्रका खेलाडीले अनलाइन दर्ता गरेको आयोजकले जनाएको छ । नेपालमा आयोजना हुन लागेको ‘प्रो क्वालिफायर’ मा मेन्स फिजिक, मेन्स क्लासिक फिजिक, मेन्स बडिबिल्डिङ र ओमन फिजिक गरि ४ वटा प्रो. कार्डका लागि प्रतिस्पर्धा हुँदै छ ।

प्रो.कार्ड पाउने ४ खेलाडीले अमेरिकाको लस भेगासमा आयोजना हुने ‘मिस्टर ओलम्पियामा भाग लिन पाउनेछन् । प्रतियोगितामा प्रायोजकको रूपमा हिमालय स्प्रिङ वाटर प्राइभेट लिमिटेटेडको ‘हिमालयस अन टप’, नर्भिक अस्पताल, बुद्ध एयरलाइन्स र टोयटा कम्पनी रहेको छ ।

युवा संघ नेपालका अध्यक्ष रमेश पौडेलले प्रतियोगिताको सफलताका लागि आयोजक संस्थालाई शुभकामना प्रदान गरेका थिए । फागुन ४ गते कमलादीस्थित एकेडेमी हलमा आयोजना हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ ।

प्रतियोगितामा सहभागी हुने खेलाडीबीच फागुन २ गते सेमीनार र ३ गते खेलाडीको उचाई र तौल नापिनेछ । फागुन ४ गते नै बिहान ८ बजेदेखि प्रिजजिङ र २ बजेदेखि फाइनल खेल सुरु हुनेछ । फाइनल सम्पन्न भएपछि रोलीले आफ्नो भीमकाय शरीर प्रदर्शन गर्नेछन् ।

प्रतिक्रिया