भियतनामले किन आयोजना गर्दै छ, ट्रम्प–किम बैठक

बेइजिङ । सन् १९६५ मार्च महिनामा दक्षिणी भियतनामको डनअंग सहरमा पहिलो अमेरिकी फौज ओर्लिएको थियो । दक्षिण–पूर्व एसियामा पुँजीवादविरुद्ध साम्यवादीको रक्तपातपूर्ण लडाइँमा संलग्न हुने उद्देश्यले त्यसो गरिएको थियो ।

झण्डै ४४ वर्षपछि त्यही सहरले भियतनामको पूर्व शत्रु र उसको शीतयुद्धकालीन सहयोगी उत्तर कोरियाबीच संवाद आयोजना गर्न सक्छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जङ–अनसँग आफ्नो दोस्रो बैठक फेब्रुअरी २७ र २८ मा भियतनाममा हुने पुष्टि गरिसकेका छन् ।

बैठक डनअंग वा हनोइमा हुन सक्छ । कम्युनिस्ट सत्ता भए पनि पुँजीवादी अर्थतन्त्र रहेको भियतनामलाई अहिले वासिंगटन र प्योङयाङ दुवैले एउटा मित्र मान्ने गरेका छन् ।

अस्ट्रेलियाको युनिभर्सिटी अफ साउथ वेल्सका भियतनाम विज्ञ कार्ल थाएरका अनुसार त्यो एउटा तटस्थ आयोजकको रूपमा मानिएको छ र उसले आवश्यक सबै कुरा अमेरिका तथा उत्तर कोरियाबाट अनुमोदन गराएको छ ।

प्राध्यापक थाएरले बिबिसीलाई भने, ‘भियतनामले गर्ने ट्रम्प–किम सम्मेलन स्थलको छनोट प्रतिकात्मक मात्र छैन । सम्मेलनका निम्ति उच्च सुरक्षाको वातावरण उपलब्ध गराउन सक्ने क्षमताको सबै पक्षले प्रशंसा गरेकाले भियतनाम छनोट भएको हो । सबै पक्षले भियतनाम तटस्थ आयोजक भएको ठान्छन् ।’ किमका निम्ति चिनियाँ आकाश हुँदै भियतनामको उडान सुरक्षित छ । प्योङयाङको राम्रो सम्बन्ध रहेका थोरैमा ती दुवै देश पर्छन् । प्राध्यापक थायरका बुझाइमा उत्तर कोरियाली नेताले आफ्नो पहिलो भियतनाम भ्रमणलाई उत्तर कोरिया उपेक्षित नरहेको प्रमाणित गर्ने अवसरका रूपमा लिएका छन् ।

उत्तर कोरियाली नेताले भियतनामको विकास ढाँचाको अध्ययन गरेका छन् र भ्रमणले किमलाई आफैँले देशको रुपान्तरण हेर्ने अवसर दिने छ । थायर भन्छन्, ‘भियतनामको इतिहासमा अमेरिकाविरुद्धको युद्ध र कूटनीतिक सम्बन्धमा आएको सुधार, स्वतन्त्र व्यापार सम्झौता आदि सबै उत्तर कोरियाली सत्ताका निम्ति चासोका विषय हुन् ।’

सिंगापुरको युसोफ इसाक इन्स्टिच्युट सम्बद्ध भियतनाम विज्ञले होङ हिएपले एफएपीसँग भने, ‘किम आफ्नै निम्ति भियतनामको कथा हेर्न इच्छुक हुन सक्छन् । उत्तर कोरियालाई अगाडि लग्ने बाटोबारे धारणा बनाउन उनको निम्ति त्यो राम्रो प्रेरणाको स्रोत र प्रतिविम्ब हुन सक्छ ।’

यदि, किम भियतनामको आर्थिक सफलताबाट प्रभावित हुन सकेमा त्यसले वासिंगटनको पक्षमा योगदान दिन सक्छ । ‘समाजवाद उन्मुख बजार अर्थतन्त्र’ सिर्जना गर्ने लक्ष्यका साथ सन् १९८६ मा आर्थिक सुधार थालिएदेखि भियतनाम एसियाकै तीव्र आर्थिक विकास गर्ने देशहरूमध्ये परेको छ ।

गतवर्ष भियतनाम भ्रमणका क्रममा विदेशमन्त्री माइक पोम्पेओले यदि अवसर छोप्न सक्ने हो भने किमले उत्तर कोरियामा चमत्कार देखाउन सक्ने बताएका थिए । एसिया प्यासिफिक इकोनोमिक कोअपरेसन समिटका क्रममा ट्रम्पले सन् २०१७ मा भियतनामको भ्रमण गरेका थिए ।

प्राध्यापक थायरका अनुसार भियतनामले सहज अवस्था महसुस गरेको छ । उनी भन्छन्, ‘भियतनामको लामो समयदेखि सामूहिक विनाश गर्न सक्ने हतियारमाथिको प्रतिबन्ध र उत्तर कोरिया विरुद्धको राष्ट्रसंघीय प्रतिबन्ध कार्यान्वयनमा दिएको साथप्रति अमेरिका अनुग्रही छ ।’

अमेरिका–उत्तर कोरिया ऐतिहासिक सम्मेलन त्यसवेला हुँदै छ, जब देशी–विदेशी लगानी र ध्यान आकर्षित गर्न आफूसँग भएको कूटनीतिक सम्भावना प्रदर्शन गर्न इच्छुक छ । घोषणालगत्तै दक्षिण कोरियाको राष्ट्रपतिको कार्यालयले पनि भियतनाम छनोटको स्वागत गरेको छ ।

‘कुनै वेला भियतनामले अमेरिकाविरुद्ध तरवार र बन्दुकको प्रदर्शन गरेको थियो तर अहिले उनीहरू मित्र छन् ।’, प्रवक्तालाई उद्धृत गर्दै समाचार संस्था योनहापले लेखेको छ, ‘नयाँ इतिहास बनाउन अमेरिका र उत्तर कोरियाका निम्ति भियतनाम एउटा राम्रो स्थान हुनेछ भन्ने हाम्रो आशा छ ।’

प्रतिक्रिया