अब अनलाइनबाटै लाइसेन्स र स्थायी परीक्षाको आवेदन

काठमाडौं । शिक्षक सेवा आयोगले स्थायी शिक्षकको परीक्षा आवेदनसँगै शिक्षण अध्यापन अनुमतिपत्र (लाइसेन्स)को परीक्षा फारम अनलाइन मार्फत भर्ने व्यवस्था गर्ने भएको छ । आयोगले आफ्नो कामकारबाहीलाई प्रविधिमैत्री बनाउने योजनासहित अनलाइन प्रणालीमार्फत फारम भर्ने व्यवस्था गर्न लागेको हो ।

आयोगका प्रशासकीय प्रमुख तुलसीप्रसाद थपलियाले परम्परागत ढंगबाट फारम भर्दा परिक्षार्थीसँगै आयोगका कर्मचारीले समेत समस्या भोग्नुपरेको बताउँदै अनलाइन प्रणालीले दुबै पक्षलाई राहत पुग्ने विश्वास व्यक्त गरे । ‘पुरानो प्रणालीले दुर्गम क्षेत्रका परिक्षार्थीलाई निक्कै समस्यामा पारेको थियो । यति मात्रैहैन, आयोगका कर्मचारी समेत समस्यामा पर्ने गर्थे ।

परम्परागत प्रणाली उम्मेदवारका लागि बढी खर्चिलो र आवेदन फाराम व्यवस्थापन गर्न समस्या हुँदै आएको छ ।’ थपललियाले भने ‘अनलाइनबाट आवेदन दिन पाउने व्यवस्था भएपछि उम्मेदवारले घरमै बसेर आवेदन दिन सक्ने छन । संगै आयोगको काम चुस्त र प्रभावकारी बन्नेछ’ । थपलियाले नयाँ प्रविधीले परिक्षालाई थप व्यवस्थित बनाउँने बताएका छन् ।

यसका साथै आयोगले विषयगत रूपमा शिक्षण अनुमतिपत्रको परीक्षा लिने, पाठ्यक्रम सुधार, प्रश्नको स्तरीकरण, प्रारम्भिक परिक्षा र अप्टिकल मार्क रिडर मेसिन (ओएआर) मार्फत वस्तुगत उत्तरपुस्तिका परीक्षण गर्ने लगायतका योजना अघि बढाएको जनाएको छ ।

प्रमुख थपलियाले एक महिनाभित्र शिक्षक लाइसेन्सको विज्ञापन गर्ने तयारी गरिएको जानकारी दिए । यसअघि, शिक्षण गर्ने तहका आधारमा लिइदै आएको शिक्षक लाइसेन्सको परिक्षा समेत विषयगत रूपमा लिइने भएको छ । विषयगत हिसाबबाट परिक्षा लिदा परिक्षार्थीको व्यवहारिक ज्ञान बढ्नुकासाथै भविष्यमा उपयोगी हुने प्रश्न सोध्न पाइने आयोगको निश्कर्ष छ । उक्त परिक्षाको फारम समेत अनलाइनबाटै भर्न मिल्ने व्यवस्था गर्न लागिएको थपलियाले जानकारी दिए ।

यस्तै आयोगले, स्थायी पदका लागि आवेदन दिएका उम्मेदवारको प्रारम्भिक परिक्षा लिने व्यवस्था गर्ने भएको छ । आयोगले प्रारम्भिक परीक्षाबाट छनोट भएपछि मात्रै स्थायी पदका लागि लिइने लिखित परीक्षामा सहभागी गर्ने व्यवस्था गर्न लागेको हो । पछिल्लो समय आयोगको विज्ञापनमा शिक्षक पदका लागि आवेदन दिने आवेदकको संख्या धेरै हुन थालेपछि प्रारम्भिक परिक्षा मार्फत परिक्षार्थी छनोट गर्न लागिएको प्रमुख थपलियाले जानकारी दिए ।

प्रतिक्रिया