पोखरामा १४ बर्षीय बालक हत्या गर्ने पक्राउ

चिप्लेढुङ्गा । पोखराको लेकसाइडमा सोमबार मध्यरातमा १४ वर्षीय बालक सचिन सिञ्जालीको हत्या आरोपित युवक पक्राउ परेका छन् । पाल्पा घर भई लेकसाइडमा बस्दै आएका सचिनको उनकै साथीले हत्या गरेको खुल्न आएको छ ।

उनलाई आफ्नै साथी बेनी काले भनिने २१ वर्षीय कुमार गर्बुजाले आफूले हत्या गरेको प्रहरीसमक्ष स्वीकारेका छन् । आरोपितलाई जिल्ला प्रहरी कार्यालय कास्कीले पत्रकार सम्मेलनमार्फत आज सार्वजनिक गरेको हो । हल्लनचोकस्थित निर्माणाधीन एक भवनमा सिञ्जालीको हत्या गरिएको अवस्थामा शव फेला परेको थियो ।

प्रहरीलाई आज बिहान २.३० बजे घटनाका बारेमा जानकारी गराइएको थियो । वडा प्रहरी कार्यालय बैदामका प्रमुख नवीन कार्कीसहितको प्रहरी टोलीले घटनास्थललाई सुरक्षित राखेर अनुसन्धान सुरु गरेलगत्तै हत्या आरोपित पक्राउ पर्न सफल भएको हो ।

सचिनको शव परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छ । सचिनका बुबाआमाबीच सम्बन्ध राम्रो नभएकाले अलग अलग बस्दै आएका थिए । आमा लेकसाइडमा स्पा सञ्चालन गर्छिन् भने बुबाले फ्रेस हाउस सञ्चालन गर्दैआएका छन् । सचिन हजुरआमा र आमासँगै बस्दै आएका थिए ।

प्रतिक्रिया