भ्यालेन्टाइनमा ‘घाम जून’ आउने

काठमाडौं । चलचित्र ‘लिली बिली’ बाट नेपाली रजतपटमा देखापरेका अभिनता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङले भ्यालेन्टाइन डेमा दर्शकलाई ‘घाम जून’ उपहार दिने भएका छन् ।  उज्ज्वल घिमिरेले निर्देशन गरेको चलचित्र ‘लभ स्टेशन’ को पहिलो गीत ‘चाहिँदैन घाम जुन…’ को भिडियो भ्यालेन्टाइन डेको अवसर पारेर सार्वजनिक गरिने भएको छ । बुढासुब्बा डिजिटलको युट्टुव च्यानलमार्फत सार्वजनिक गरिने यो गीत भियतनाममा छायांकन गरिएको हो । नयाँ वर्षको अवसर पारेर आगामी २२ चैतबाट ‘लभ स्टेशन’ देशव्यापी सिनेमा हलमा रिलिज हुँदै छ ।

यो गीतमा गायक सुगम पोखरेल र गायिका रेश्मा पुनमगरको स्वर रहेको छ । जसमा दीपक शर्माको शब्द संगीत रहेको छ । गीतसँगै भिडियो पनि उत्कृष्ट बनेको यसका प्रस्तुतकर्ता गोविन्द शाहीले बताएका छन् । अभिनेता प्रदीपले विगतका सिनेमाभन्दा ‘लभ स्टेशन’ मा आफ्नो काम केही फरक रहेको बताए ।

यो चलचित्र पारिवारिक तथा सांगीतिक प्रेमकथामा आधारित रहेको र अहिलेसम्मको काम प्रशंसनीय भएको अभिनेता खडकाले जनाए । उनले गीत साह्रै मिठो र भिजुअल रुपमा निकै सुन्दर बनेको जिकिर गरे । चलचित्रमा प्रदीप र जसितासँगै अभिनेता रमेश बुढाथोकी, सरु बिष्ट, रवि डंगोल, प्रकाश शाह, प्रिया रिजाल, रेशु भट्टराई, कालु राना, विनोदकुमार पौड्याल, दिनेश काफ्ले लगायतका कलाकारको अभिनय छ ।

निर्देशक घिमिरेका अनुसार ‘लभ स्टेशन’ सांगीतिक प्रेम कथामा आधारित पारिवारिक सिनेमा हो । यो चलचित्रलाई काफिया फिल्मस्को ब्यानरमा काफिया शाही (क्रिसु) र कविरविक्रम शाहीले निर्माण गरेका हुन् । आलोक शुक्लाको छायांकन रहेको लभ स्टेशनमा शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ । चलचित्रको निर्माण नियन्त्रकमा राजेन्द्र रावल छन् ।

प्रतिक्रिया