बेलायतमा नेपाली साहित्य सम्मेलन हुने

काठमाडौं । नेपाली साहित्यलाई संगठित रूपमा विश्वव्यापी लैजाने लक्ष्यका साथ अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले आगामी साउन १८–२० गते छैटौंँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन बेलायतमा गर्ने जनाएको छ ।

समाजका केन्द्रीय अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो । बेलायतमा गर्ने सम्मेलनको सम्पूर्ण तयारी बेलायत शाखाले गर्ने जनाइएको छ । नेपाली साहित्यलाई संसारभरी फैलाउने गरी अनेसासले काम गरिरहेको अध्यक्ष लेकाली बताए । उनले भने, ‘हामीले साहित्यमार्फत विश्वमा छरिएर रहेका नेपालीलाई जोड्ने काम गरिरहेका छौं । साथै नेपाली संस्कृतिलाई ती देशमा लैजाने काम गरिरहेका छौं । बेलायतमा हुने सम्मेलनले पनि हाम्रो कला, संस्कृति तथा साहित्यलाई विश्वव्यापी बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएका छौं ।’

बेलायतले यसअघि दोस्रो सम्मेलन गरिसकेको छ । सम्मेलनको तयारी अनेसास बेलायतका अध्यक्ष सुमलकुमार गुरुङको संयोजकत्वमा सम्मेलन सुरु भएको छ ।

उक्त सम्मेलनमा सबै महादेशका प्रतिनिधिको सहभागिता रहने जनाइएको छ । साथै विभिन्न विषयमा कार्यपत्र प्रस्तुत हुने तथा केही विषयमा समूहगत छलफल हुने अध्यक्ष लेकालीले जानकारी दिए । उक्त अवसरमा विश्व काव्यगोष्ठी, चित्र र पुस्तक प्रदर्शनी, सांस्कृतिक कार्यक्रम, स्मारिका प्रकाशन लगायत कार्यक्रम गरिने छ ।

नेपाली साहित्यलाई व्यापकता दिन सम्मेलनमार्फत बेलायत घोषणापत्र पनि जारी गरिने अनेसासले जनाएको छ । अनेसासले यसअघि क्रमशः न्युयोर्क, बेलायत, वासिङ्टन डिसी, जापान र अस्ट्रेलियामा गरी पाँच पटक सम्मेलन गरिसकेको छ ।

प्रतिक्रिया