धनगढी प्रिमियर लिग : काठमाडौं गोल्डेन्स र रूपन्देही च्यालेन्जर्सको विजयी सुरुआत

काठमाडौं । काठमाडौं गोल्डेन्स र रूपन्देही च्यालेन्जर्सले तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) विजयी सुरुआत गरेका छन् । घरेलु टोली धनगढी स्टार्सलाई उद्घाटन खेलमा ४ विकेटले पराजित गर्दै काठमाडौंले सुखद सुरुआत गर्दा दोस्रो खेलमा महेन्द्रनगर युनाइटेडमाथि रूपन्देहीले २ रनको रोमाञ्चक जित हात पारेको छ ।

उद्घाटन खेलमा टस हारेर ब्याटिङ गरेको धनगढीले अमित श्रेष्ठको अर्धशकको मद्दतमा निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ३२ रन बनाउन सफल भयो । अमितले ५० बल खेल्दै २ छक्का र ४ चौका प्रहार गर्दै ५० रन बनाएका थिए । धनगढीका लागि सन्दीप राईले २८ र सौरभ खनालले २५ रनको योगदान दिए ।

काठमाडौंका नन्दन यादवले ३ ओभरमा ८ रन खर्चेर २ विकेट लिए भने ललित राजवंंशी र अंकित दबासले समान १÷१ विकेट लिए । १ सय ३३ रनको लक्ष्यसहित ब्याटिङमा उत्रेको काठमाडौंले एक बल बाँकी रहँदै लक्ष्य भेट्टायो । काठमाडौंका अंकित दबासले २३ बलमा २९ रन जोडे । उनले २ छक्का र २ चौका प्रहार गरेका थिए । गौरव तोमारले २ छक्का र ३ चौकाको मद्दतमा २८ रन जोड्दा अनिल शाहले २४ रन जोडे ।

कप्तान ज्ञानेन्द्र मल्लले ३, सोनु तामाङ र योगेन्द्रसिंह कार्कीले समान २ रन बनाए । महबुब आलम १२ र विक्रम भुसाल १४ रनमा अविजित रहे । आलमले १ चौका र भुसालले २ छक्का प्रहार गरे । धनगढीका रोहन मुस्तफाले ४ ओभरमा २७ रन खर्चेर ४ विकेट लिए । अमिर हायात र विपिन खत्रीले समान १÷ १ विकेट लिएका थिए ।

दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको रूपन्देही च्यालेन्जर्सले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १ सय ११ रन जोड्यो । रूपन्देहीका सुमित महर्जनले २ छक्का र १ चौकाको मद्दतमा सर्वाधिक २७ रन बनाए भने विनोद भण्डारीले १९, विक्रम सोबले अविजित १६ रन र अमिर हायातले १४ रन जोडे । अन्य ब्याट्सम्यानले दोहोरो अंकको स्कोर बनाउन सकेनन् ।

महेन्द्रनगरका सिद्धान्त लोहनीले ४ ओभरमा १९ रन खर्चेर ३ विकेट लिए । अविनाश बोहोरा र सागर ढकालले समान २÷ २ विकेट लिए । १ सय १२ को लक्ष्यसहित ब्याटिङ गरेको महेन्द्रनगरले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ९ रन मात्र जोड्न सक्यो । महेन्द्रनगरका सुब्रह्मण्यम् आनन्दले सर्वाधिक २५ रन बनाए ।

उनले ३४ बल खेल्दै २ छक्का र १ चौका प्रहार गरेका थिए । रोहित पौडलले २४ रन जोड्दा मोहम्मद नाविदले १२ रन जोडे । अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । रूपन्देहीका विक्रम सोबले ३ तथा पुनीत मेहराले २ विकेट लिएका थिए ।

प्रतिक्रिया