काठे पुलमा मोटर सरर …

ताप्लेजुङ । ग्रामीण भेगमा नदीको बहाव घट्दै गएपछि बाटोलाई छोटो बनाउन र त्यसबाट मान्छे आवतजावत गर्न फड्के थाप्ने चलन छ । लामो बाटो नघुम्न र छिटो गन्तव्यमा पुग्न गाउँटोललाई अनुकूल हुनेगरी फड्के बनाउने चलन अझै हराएको छैन ।

पछिल्लो समय गाउँगाउँमा सडक पनि पुगेका छन् । अहिले खोला नदीमा गाडी आवतजावतका लागि पनि यस्तै विधि अपनाउन थालिएको छ । पछिल्लो समय जिल्लाका विभिन्न स्थानमा काठको अस्थायी पुल बनाउने क्रमले पनि गति पाएको छ । एकपछि अर्को अस्थायी पुल बन्न थालेका छन् । यो स्थायी नभई हिउँदभरका लागि मात्रै हो ।

बर्खा लागेपछि यस्ता पुललाई कि निकालेर राख्नुपर्छ कि त खोलाले बगाउँछ । जिल्लाको फक्ताङलुङ गाउँपालिकाको खेजेनिम र लिङ्खिम जोड्ने खोलामा यस्तै काठको अस्थायी पुलको निमार्ण गरिएको छ । अस्थायी पुल निमार्ण भइसकेपछि अहिले धमाधम सवारी साधन सञ्चालनमा छन् ।

सो गाउँपालिकाको अन्य स्थानमा पनि काठको अस्थायी पुल निर्माण गरिएको गाउँपालिका अध्यक्ष सरोज एभेङले जानकारी दिए । गाउँपालिकाद्वारा तापेथोक–ईखाबु र रानिपुल–लेलेप सडक खण्डमा पर्ने तमोर नदीमा अस्थायी पुल बनाएको हो । पुलमार्फत पहिलोपटक जिल्लाका इखाबु र लेलेपमा सवारी साधन पुगेको छ ।

सवारी साधन पुगेपछि त्यहाँका स्थानीय खुसी बनेका छन् । गाउँपालिकाको ४ लाख ५० हजारको लागतमा पुल बनाइएको गाउँपालिका अध्यक्ष सरोज एभेङले बताएका छन् । सो गाउँपालिकाकाले मानाभारा महात्सवको अवसर पारेर स्थानीयको सक्रियतामा पहिलोपटक अस्थायी पुल निर्माण गरी सवारीसाधन सञ्चालन गरेको थियो । त्यसअघि नै सानिमा हाइड्रोपावरले तमोर नदीमा अस्थायी रूपमा पुल निर्माण गरेको थियो ।

नदीमा ६ वटा हिमपाइप हालेर फुङलिङ नगरपालिका र मिक्वाखोला गाउँपालिकामा गाडी आवतजावत गर्ने बनाइएको छ । थुम्वा बेंसी छेउमा तमोर नदीमा हिमपाइपबाट पानी कटाइएर त्यसमाथि गाडी गुड्ने बनाइएको छ । त्यो सँगै मिक्वाखोला गाउँपालिका–३ लिवाङसम्म सवारी साधन पुगेको छ । ‘अस्थायी पुलले गर्दा घरैसम्म गाडी आयो ।’ खेजेनिमका राजेन्द्रबहादुर लिम्बूले खुसी हुँदै भने, ‘पहिलेपहिले हामी फड्केबाट खोला वारपार गथ्र्यौं । अहिले त गाडी पनि फड्केबाट तर्दै छ ।’

यहाँ पुल बने ओलाङचुङगोला र लेलेपका बासिन्दालाई गाउँपालिकाको केन्द्र तापेथोक र सदरमुकाम फुङलिङ आउन सहज हुन्छ भने पर्यटकीय कञ्चनजंघा क्षेत्र र ओलाङचुङगोला जानेका लागि राहत हुन्छ । तर, हिमपाइपभन्दा काठको पुल भरपर्दो हुने स्थानीयको बुझाइ छ । ‘एउटा हिमपाइपलाई एक लाख पर्ने रहेछ । त्यो राख्दा र निकाल्दा टुटफुट हुने सम्भावना धेरै हुन्छ ।

त्यसैले काठको पुल बनाएका छौँ,’ एभेङले भने । पहिलो हिउँदमै यति धेरै अस्थायी पुल बने अर्को वर्षदेखि फेसन बन्न सक्ने स्थानीय बताउँछन् । जिल्लामा तमोर, मेवा, मैवा, कावेली, जस्ता नदीहरू रहेका छन् । ‘धेरैजसो गाउँपालिकाले खोलासम्म र हिउँदमा स्काइभेटर मेसिन खोलो तारेर टोलटोलमा बाटो पु¥याएका छन्,’ लिवाङका जयराम कार्कीले भने, ‘गाडी कसरी पु¥याउने भन्ने थियो नयाँ उपायको सुरुआत भएको छ यसले गति पाउन सक्छ ।’

प्रतिक्रिया