शिक्षाका कर्मचारीलाई एनजिओमा जान कडाइ

काठमाडौं । शिक्षा मन्त्रालयले आफू मातहतका कर्मचारीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्था (एनजिओ र आइएनजिओ) को कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको छ ।

मन्त्रालयले व्यक्तिगत पहुँचका आधारमा कर्मचारीको बढ्दो सहभागितालाई नियन्त्रण गर्न उक्त सूचना जारी गरेको हो । मन्त्रालयले आफू अन्तर्गतका विभिन्न आठ निकायमा कार्यरत कर्मचारीहरूलाई एनजिओ र आइएनजिओले विदेशमा आयोजना गरेको कार्यक्रममा सहभागी हुनपूर्व जानकारी गराउन निर्देशन दिएको छ ।

शिक्षा सचिव खगराज बरालले जारीगरेको निर्देशनमा एनजिओ र आईएनजिओले देश भित्र गर्ने कार्यक्रममा कर्मचारीद्वारा व्यक्त विचार संस्थागत नहुने भन्दै उक्त धारणाको जिम्मेवारी व्यक्ति आफैँले लिनु पर्ने उल्लेख गरिएको छ ।

व्यक्तिगत पहुँच प्रयोग गरी सहभागी हुने गरेको सुनिन आएको भन्दै उक्त निर्देशनमा संस्थाहरूबाट संस्थागत सम्बोधन गरेर प्राप्त भएको आमन्त्रण पत्र अध्ययन गरेर उपयुक्तभए मात्रै जान निर्देशन दिइएको छ । यसैगरी देश बाहिर सञ्चालन हुने कार्यक्रममा सहभागी हुनुपूर्व वैदेशिक भ्रमण व्यवस्थापन निर्देशकाको व्यवस्था हेक्का राख्न स्मरण गराइएको छ ।

उक्त निर्दे्शिकामा कुनै प्रतिष्पर्धामा भाग लिएर व्यक्तिले पाएको निमन्त्रणामा पनि पूर्व स्विकृती लिनु पर्ने व्यवस्था छ । यस्तै नेपालको तर्फबाट प्रतिनिधित्व हुने वैदेशिक भ्रमणमा नेपाल सरकारको मनोनयन तथा निर्णय नभई जान नपाईने व्यवस्था छ । उक्त व्यवस्थामा बहालवाला कर्मचारीले विदा लिएर पनि सरकारी प्रतिनिधिको हैसियतमा जान नपाउने उल्लेख छ ।

प्रतिक्रिया