‘भ्रष्टाचार संस्थागत हुनु चिन्ताको विषय’

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रष्टाचारलाई संस्थागत गर्न खोजिए त्यो चिन्ताको विषय हुने बताएकी छन् । अख्तियारको २८औँ स्थापना दिवसको अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले भ्रष्टाचार संस्थागत हुन थालेको हो कि भन्दै यो चिन्ताको विषय भएको बताइन् ।

राष्ट्रपति भण्डारीले भ्रष्टाचारलाई विषवृक्षको संज्ञा दिएकी छन् । ‘विषवृक्ष जस्तै भ्रष्टाचार सबैका लागि पीडादायी हुनुका साथै जति यो बढ्दै जान्छ उति नै नियन्त्रण कठिन हुँदै जान्छ र समाजका हरेक क्षेत्रलाई क्षतविक्षत र तहसनहस बनाउँदै जान्छ,’ उनले भनिन् । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार अब कसैले लुकाउन सम्भव नहुने बताएका छन् । सरकार भ्रष्टाचार नियन्त्रण गर्ने संकल्पका साथ अगाडि बढेको भन्दै उनले भ्रष्टाचार लुकाउन सम्भव नहुने दाबी गरेकी हुन् ।

‘हामी भ्रष्टाचार नियन्त्रण गर्ने संकल्पका साथ अगाडि बढेका छौँ, अब भ्रष्टाचार लुक्न र लुकाउन सम्भव छैन’, उनले भनिन् ‘त्यसैले अब भ्रष्टाचार भ्रष्टका लागि पनि शत्रु नै हो ।’ प्रधानमन्त्री ओलीले भ्रष्टचारीलाई पारिवारिक तबरले पनि घृणा गर्नुपर्नेमा जोड दिएका छन् । ‘भ्रष्टाचारीलाई श्रीमान् र श्रीमती, छोरा, छोरीले घृणा गर्छन् । भ्रष्टाचार सबैको शत्रु हो । यस शत्रुलाई निमिट्यान्न पार्नका लागि हामी सबै लाग्नुपर्छ’, प्रधानमन्त्री ओलीको भनाइ छ ।

उनले भ्रष्टाचार नियन्त्रणमा अख्तियार लाग्नुपर्ने बताए । सबैले भ्रष्टाचार नगर्ने प्रतिबद्धता जनाउनुपर्ने प्रधानमन्त्रीको भनाइ छ । प्रधानमन्त्री ओलीले, ‘एकले अर्कोलाई देखाएर सबै उस्तै हुन् भनेर भ्रष्टाचार ढाकछोप गर्ने र समाजप्रतिको विश्वास कमजोर पार्ने प्रवृत्तिबाट सबै माथि उठ्नुपर्ने’ बताए ।

प्रधानमन्त्री ओलीले कारबाही गरेर दण्ड विधिबाट भन्दा पनि नियन्त्रणको विधिबाट भ्रष्टाचार अन्त्य गर्नुपर्ने बताए । ‘ऋषिमुनी, सन्त र महात्माहरूको देश र त्यस्ताका सन्तति हामीले भ्रष्टाचार नगरे कसरी (भ्रष्टाचार) हुन्छ ?’ उनले प्रश्न गर्दै भने, ‘हरेकले भ्रष्टाचार नगर्ने प्रतिज्ञा गर्ने हो भने भ्रष्टाचार नै हुँदैन ।’

प्रतिक्रिया