ओकेबाजेद्वारा विद्यालयलाई दुई लाख सहयोग

 

बेझाड । विद्यालयको पढाइस्तर सुधार्न पाल्पा रामपुर नगरपालिका– १ स्थित चन्द्रोदय माध्यमिक विद्यालयमा स्थापित एक कोषका लागि सहयोगस्वरुप रू २ लाख प्राप्त भएको छ ।

विद्यार्थीको पढाइको स्तर खस्किएको देखेर त्यसलाई सुधार्न जापानी ताकेडाले अक्षयकोष स्थापना गर्नुभएको थियो । सो कोषको श्रीवृद्धिका लागि अर्का जापानी काजुमासा काकीमी (ओकेबाजे) ले प्रधानाध्यापक टङ्कनाथ पोखरेललाई उक्त रकम बराबरको चेक प्रदान गरेका छन् ।

उक्त विद्यालयमा एसइई परीक्षा उत्तीर्ण भई विज्ञान विषय लिएर बिएस्सीसम्म अध्ययन गर्न इच्छुक गरीब, जेहेन्दार, विपन्न र दलित विद्यार्थीका लागि उक्त कोषबाट प्राप्त व्याज रकमबाट सहयोग उपलब्ध गराइने प्रधानाध्यापक पोखरेलले बताए ।

आर्थिक अवस्था नाजुक हुँदा कतिपय विद्यार्थीले एसइई परीक्षा उत्तीर्ण गरेपछि पढाइ छाड्ने गरेकाले ओकेबाजेकै पहलमा ताकेडाले सहयोग सो गरेकाे हो ।

कैदीबन्दीलाई पुस्तक तथा खेलकूदका सामग्री

पाल्पा जिल्ला कारागारका कैदीबन्दीलाई पुस्तक तथा खेलकूदका सामग्री वितरण गरिएको छ । पुस्तक दिवसका अवसरमा आइतबार नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ पाल्पा शाखाले तानसेनमा रहेको सो कारागारलाई पुस्तक तथा खेलकूदका सामग्री उपलब्ध गराएको हो ।

एकासी थान पुस्तक, दुई भकुण्डो, एक–एक थान चेस तथा लुडो, एक जोडी ¥याकेट र एक दर्जन कक प्रदान गरिएको शाखा अध्यक्ष किशोर भट्टराईले बताए । आगामी वर्ष पनि यो सहयोगलाई निरन्तरता दिइने उनले जानकारी दिए । उक्त कारागारमा ५६ महिला, दुई बालबालिका र २३३ पुरुष कैदीबन्दी छन् । पुस्तक तथा खेलकूदका सामग्री पाएपछि खुशी लागेको कैदी राजु आचार्यले बताए ।

प्रतिक्रिया