बलिउड खलनायकको गुमनाम निधन

एजेन्सी, नयाँदिल्ली । बलिउडका खलनायक महेश आनन्दको अँधेरीस्थित आफ्नै घरमा निधन भएको छ । ५७ वर्षीय आनन्द शनिबार बिहान मृत अवस्थामा भेटिएका थिए । उनको दुई दिनपहिले नै मृत्यु भएको प्रहरीले अनुमान गरेको छ ।
उनी सो घरमा एक्लै बस्दै आएका थिए । केही समयदेखि बेरोजगार रहेका आनन्दको शव नजिकै रक्सीको बोतल फेला परेको प्रहरीले जनाएको छ ।

तेक्वान्दोका ब्ल्याक बेल्टधारी अभिनेता महेशको शव केही सडेको अवस्थामा भेटिएको र मृत्युको कारण र समय पत्ता लगाउन शव पोस्टमार्टमका लागि कपुर अस्पतालमा लगिएको प्रहरीले बताएको छ । उनी मोडलिङबाट करिअर सुरु गरेर चलचित्र क्षेत्रमा प्रवेश गरेका थिए ।

८० दशकका चर्चित खलनायकको रुपमा चिनिएका उनी लामो समयदेखि आर्थिक अभावमा रहेका थिए । उनले अमिताभ बच्चन, सञ्जय दत्त, गोविन्दा लगायतका अभिनेतासँग मजबुर, थानेदार, बेताज बादशाह, कुल्ली नम्बर १, विजेता, लाल बादशाह, आया तुफान, बागी लगायतका दर्जनौं चलचित्रमा काम गरेका थिए ।

उनी १५ वर्षको लामो अन्तरालपछि पछिल्लो पटक पहलाज निहालिनीको ‘रंगिला राजामा’ देखिएका थिए । यो चलचत्रि यही वर्षको जनवरीमा रिलिज भएको थियो । मुम्बईमा रहने आनन्दकी बहिनीले खबर गरेपछि प्रहरी उनको घरमा पुगेको थियो ।

प्रतिक्रिया