सिंगापुरमा एचआइभीसम्बन्धी गोप्य विवरण सार्वजनिक

सिंगापुर । रिकोलाई एचआइभी भएको एक दशक भइसक्यो । सामाजिक व्यवहार गोप्य राख्न रुचाउने सिंगापुरमा उनलाई एचआइभी भएको बारेमा केही निकट व्यक्तिलाई मात्र थाहा थियो । गत महिना उनलाई एउटा फोन कल आयो । ती व्यक्तिले आफ्नो व्यक्तिगत जानकारी अनलाइनमा सार्वजनिक भएको जानकारी दिए ।

रिको एक प्रतिनिधि पात्र मात्र हुन् । उनी जस्तै एचआइभी भएका १४ हजार २ सइ जनाको स्थिति, नाम र ठेगाना एक जना अमेरिकीले इन्टरनेटमा राखिदिएको पत्ता लागेको छ । सिंगापुरका एक जना वरिष्ठ चिकित्सक साथीबाट प्राप्त गरेको गोप्य विवरण ती अमेरिकीले अनलाइनमा राखेको विश्वास गरिएको छ ।

‘यो कार्यबाट एलिजिबटी समुदायका व्यक्तिहरू सबैभन्दा बढी क्रुद्ध भएका छन्,’ ३१ वर्षीय रिकोले बताए । उनी आफ्नो पूरा नाम भन्न चाहन्नन् । अनलाइनमा गोप्य विवरण राखिएपछि आत्तिएका उनले भने, ‘मलाई हेर्ने अरू मानिसको दृष्टिकोणमा अब परिवर्तन आउन सक्छ ।’ उनले आफ्ना सबै साथीलाई आफू एचआइभी–पोजेटिभ भएको बताएका थिएनन् ।

‘एलजिबिटी भएका व्यक्तिहरूमाथि समुदाय सहिष्णु पनि हुन सक्ला तर यहाँको समुदाय एचआइभी–पोजेटिभ भएका व्यक्ति र समलिंगीलाई स्वीकार्न तयार हुँदैन । कम्तीमा मेरो जीवनकालमा यो सम्भव छैन,’ उनले दुःख प्रकट गरे ।

सिंगापुर धेरै रूपमा आधुनिक छ, तर यहाँको सामाजिक परिदृश्य आर्थिक विकास झैँ त्यही गतिमा परिवर्तन भएको छैन र कतिपय अवस्थामा ज्यादै रूढीवादी धारणाबाट आक्रान्त छ । एसियाका अरू देशजस्तै अवस्था यहाँको छ ।

सिंगापुरमा एचआइभी भएकाहरूले पटक–पटक आफ्ना गोप्य विवरण सार्वजनिक हुने खतरा औँल्याउँदै आएका थिए । सिंगापुरको प्रभावशाली अखबार स्ट्रेट टाइम्समा दिएको प्रतिक्रियामा एक कामदारले आफूलाई पनि एचआइभी भएको विवरण सार्वजनिक भए जागिरबाट हटाउने व्यवस्थापनले धम्की दिएको बताइन् ।

एचआइभी भएका कुनै पनि विदेशीलाई सिंगापुरमा धेरै वर्ष अघिसम्म पाइला टेक्न पनि दिइन्नथ्यो । सन् २०१५ मा विदेशीमाथिको त्यस्तो प्रतिबन्ध फुकुवा गरियो तर भ्रमणको अवधि छोटो बनाइन्थ्यो । सिंगापुरमा काम गर्न चाहने सबै विदेशीले स्वास्थ्य परीक्षणमा सफल हुनैपर्ने व्यवस्था थियो ।

करिब ५६ लाख जनसंख्या रहेको सिंगापुरमा धेरै विदेशी काम गर्दछन् । यी कामदारमा धनाढ्य बैंकर्सदेखि निर्माण साइटमा काम गर्ने मजदुरसम्म रहेका छन् । इन्टरनेटबाट सार्वजनिक भएको एचआइभीसम्बन्धी विवरणमा ५ हजार ४ सय सिंगापुरका बासिन्दा र ८ हजार ८ सय जना विदेशी रहेका छन् । सिंगापुरको एनजिओ एक्सन फर एड्स (एएफए) की कार्यकारी निर्देशक सुमिता बनर्जीले पीडितहरूले रुँदै आफ्नो संस्थामा सम्पर्क गरिरहेको बताइन् ।

‘एउटा मुख्य सरोकारको विषय नै यसअघि एचआइभी भएको बारेमा जानकारी नपाएका रोजगारदाता, साथीभाइ र परिवारको हो जसले यो समाचार आएलगत्तै क्रुद्ध प्रतिक्रिया दिने सम्भावना छ,’ उनले भनिन् । केहीले यही कारण जागिर नै गुमाउनुपर्ने खतरा बढेको छ, उनको भनाइ छ ।

तर, स्वास्थ्य अधिकारीहरूले जारी गरेको निर्देशिका बमोजिम कुनै पनि रोजगारदाताले एचआइभी–पोजेटिभ भएका व्यक्तिलाई रोजगारबाट हटाउन पाइन्न । सिंगापुरका अधिकारीहरूले इन्टरनेटमा राखिएका व्यक्तिका गोपनीयता जानकारीको पहुँच नदिन काम थालिसकेको जनाएका छन् । अधिकारीहरूले एक शंकास्पद व्यक्ति मिखी फरेरा ब्रोचेजले गोप्य विवरण अनलाइनमा राखेको बताएका छन् । ती व्यक्तिसँग गोपनीय रेकर्ड अझै हुन सक्ने बताएका छन् ।

स्थानीय सञ्चार माध्यमले ब्रोचेजलाई संयुक्तराज्य अमेरिकामा पक्राउ गरिएको जनाएका छन् । तर, उनले गोप्य विवरण इन्टरनेटमा नराखेको दाबी गरेका छन् । एचआइभी–पोजेटिभ मनोविज्ञानवेत्ता ब्रोचेज सन् २००८ मा पहिलोपटक सिंगापुर आएका थिए । उनले आफ्ना साथी चिकित्सक लर टेक सियाङको रगत लिएर रक्त परीक्षणमा सफल देखाएका थिए । त्यही आधारमा उनी सिंगापुरमा बस्न पाएका थिए । तिनै साथीबाट ब्रोचेजले एचआइभी पीडित व्यक्तिका गोप्य विवरण प्राप्त गरेका थिए ।

सन् २०१६ मा प्रहरीले गोप्य सूचनाका आधारमा ब्रोचेज र लरको निबासमा छापा मारेर कागजातहरू, एउटा ल्यापटप र मोबाइल फोन बरामद गरेको थियो । ब्रोचेजलाई अन्ततः आफ्नो एचआइभी विवरणबारे झुटो विवरण दिएको, नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको, गैरकानुनी रूपमा रोजगारीमा प्रवेश गरेको तथा लागुऔषध सेवन गरेको आरोपमा जेलमा समेत राखिएको थियो ।

सिंगापुर सरकारले सन् २०१८ मा ब्रोचेजलाई स्वदेश फर्काएको थियो, तर उनीबारे अधिकारीहरू अनभिज्ञ थिए । अहिले तिनै ब्रोचेजले सबै विवरण इन्टरनेटमा राखिदिए । यद्यपी अधिकारीले ब्रोचेजले किन गोप्य विवरण इन्टरनेटमा राखे भन्ने कुनै विवरण दिन अस्वीकार गरेका छन् । सिंगापुर सरकारले एचआईभी–पीडितलाई सहयोग गर्ने स्पष्ट गरेको छ ।

प्रतिक्रिया