सकियो सिर्जनात्मक कला महोत्सव

काठमाडौं । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, वास्तुकला तथा अन्य सिर्जनात्मक कला विभागको आयोजनामा काठमाडौंमा बिहीबारदेखि सुरु भएको ‘सिर्जनात्मक कला महोत्सव २०७५’ सम्पन्न भएको छ ।  नेपालमा पछिल्लो समय प्रचलित विभिन्न सिर्जनात्मक कला विधालाई व्यवस्थित रूपमा अगाडि बढाउने उद्देश्यका साथ महोत्सवको आयोजना गरिएको हो । साथै कलाको विशिष्टीकृत गर्दै कलाकारलाई प्रोत्साहन गरी यस क्षेत्रको भविष्य निर्माणमा सहयोग गर्ने उद्देश्यले चार दिने कला महोत्सव गरिएको उक्त विभागका प्रमुख रमेशनाथ खनालले बताए ।

उनले भने, ‘कलाका माध्यमबाट समाजमा परिवर्तन ल्याउँदै समृद्ध नेपाल निर्माणका लागि वातावरण बनाउने लक्ष्यका साथ महोत्सवको आयोजना गरिएको हो ।’ प्रतिष्ठान परिसर नक्सालमा भएको महोत्सवको उद्घाटन प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्यले गर्दै समसामयिक विधाका रूपमा विकास भएको सिर्जनात्मक कलाको विकासका लागि महोत्सव महत्वपूर्ण माध्यम भएको बताए । उनले नयाँ तथा पुराना कलाकार एकै ठाउँमा भेला हुँदा अनुभव आदानप्रदान पनि हुने र कला क्षेत्रको विकासमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा कार्टुनिस्ट क्लबका अध्यक्ष अविन श्रेष्ठले कलाका विविध पक्षलाई जोड्दै समाजमा स्थापित गर्ने लक्ष्यका साथ गरिएको महोत्सवले सहयोग पु¥याउने धारणा राखे । उनले भने, ‘नेपाली समाजका विकृति विसंगतिलाई कार्टुनले सशक्त रूपमा उठान गर्दछ । यस विधाको उन्नयनमा प्रतिष्ठानले योजनाबद्ध ढंगले काम गर्नुपर्दछ ।’ अन्तर्राष्ट्रिय जलरङ समाज नेपाल (आइडब्लुएस) का अध्यक्ष एनवी गुरुङले यस्ता महोत्सवले कलाकारलाई अगाडि बढ्न मद्दत पुग्ने भनाइ राखे । उनले भने, ‘कला क्षेत्रको विकासमा महोत्सव तथा कार्यशालाले महत्वपूर्ण सघाउँ पु¥याउँदछ ।’

महोत्सवअन्तर्गत ‘परफरमेन्स आर्ट’ (भावभङ्गी कला) प्रतियोगिता, कार्टुन कार्यशाला तथा प्रतियोगिता, वास्तुकलाअन्तर्गतको स्थलगत चित्रकला कार्यशाला प्रतियोगिता आयोजना गरिएको कार्यक्रम संयोजक खनालले जानकारी दिए ।

महोत्सवमा परफरमेन्स आर्ट (भावभङ्गी कला) प्रतियोगिता र कार्टुन कार्यशाला तथा प्रतियोगिता प्रतिष्ठान परिसरमा गरिएको थियो भने हनुमानढोका क्षेत्रको वास्तुकला, दरबार स्क्वायर, मन्दिर र मन्दिरका कलात्मक ढोका, टुँडाल, झ्याल, मूर्ति, घण्टीलाई कलाकारले क्यानभासमा उतारेका छन् ।

महोत्सवअन्तर्गत माघ २७ गतेसम्म विभिन्न प्रतियोगितात्मक कार्यक्रम रहेको र आगामी फागुन १७ गते महोत्सवको समीक्षा लगायतका कार्यक्रम हुने उनले बताए ।  महोत्सवअन्तर्गत कार्टुन कलासम्बन्धी ‘डकुमेन्ट्री’ निर्माण गरिने तथा आर्ट फोटोग्राफी, नेपालमा कार्टुन कलाको इतिहास तथा नेपालको ‘इन्स्टलेसन आर्ट’ को विषयमा पुस्तक लेखन सम्झौता भएको छ । महोत्सवको ‘परफरमेन्स आर्ट’ का लागि १२, कार्टुन कार्यशालाका लागि ३० र स्थलगत चित्रकला कार्यशालामा ७० भन्दा बढी कलाकार सहभागी भएका थिए ।

प्रतियोगितात्मक कार्यक्रमको हरेक विधामा प्रथम, दोस्रो र तेस्रो हुने विजेतालाई नगद क्रमशः १० हजार, सात हजार र पाँच हजार पुरस्कार प्रदान गरिने जनाइएको छ । कार्यक्रममा प्रतिष्ठानका उपकुलपति गोपाल चित्रकार, सदस्यसचिव विपितकुमार घिमिरे, विन्द स्पेस फर आर्टिस्टका अध्यक्ष पृथ्वी श्रेष्ठ लगायतले आआफ्ना भनाइ राखेका थिए ।

प्रतिक्रिया