अन्ततः पछि हटिन् थाई राजकुमारी

बैंकक । अहिलेका थाई राजा महा भजिरालोङकोङकी दिदी ६७ वर्षीया राजकुमारी उबोलरत्न महडोल थाइल्यान्डको प्रधानमन्त्री पदका लागि उम्मेदवारी दिए पनि राजाको असन्तोषका कारण उनी उम्मेदवार नबन्ने भएकी छन् । उनले पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्रासँग मिलेर प्रधानमन्त्री पदमा उम्मेदवार दिएकी थिइन् ।

तर, राजदरबारले राजपरिवारका सदस्य निष्पक्ष हुनुपर्ने र कुनै पनि राजनीतिमा सामेल हुन नहुने भन्दै वक्तव्य नै जारी गरेपछि उनी पछि हटेकी हुन् । उनी त्यहाँको राजघरानासँगको सम्बन्धबाट बाहिरिएर अमेरिकी नागरिकसँग विवाह गरेर गएकोमा अहिले स्वदेश फर्केर राजनीतिमा आउन चाहेकी थिइन् ।

उनलाई उम्मेदवार बनाएको थाई रक्षा चार्ट पार्टीले शनिबार उनको उम्मेदवारी फिर्ता लिएको छ । थाइल्यान्डमा प्रधानमन्त्री पदको चुनाव आगामी मार्च २४ मा हुँदै छ । सन् २०१४ मा सेनाले त्यहाँको सत्ता लिएपछि पहिलोपटक चुनाव हुन लागेको हो ।

प्रतिक्रिया