स्रष्टा सम्मानित एवं पुरस्कृत

मोरङ । नेपाली कला, साहित्य, भाषा, संस्कृति, समाजसेवा तथा पत्रकारिताका क्षेत्रमा योगदान दिएका विभिन्न व्यक्तित्व पुरस्कृत एवं सम्मानित भएका छन् । चेतना संरक्षण प्रतिष्ठान नेपालद्वारा शनिबार आयोजित चौधौं वार्षिकोत्सव एवं स्रष्टा सम्मान कार्यक्रम–२०७५ मा उनीहरूलाई सम्मान एवं पुरस्कृत गरिएको हो ।

प्रतिष्ठानले भाषा, साहित्य, पत्रकारिता, समाजेवा तथा संस्कृति जर्गेनामा महत्वपूर्ण योगदान दिने व्यक्तित्वलाई वर्षेनी पुरस्कृत एवं सम्मान गर्दै आएको जनाएको छ ।  पुरस्कृत एवं सम्मानित हुनेमा एक लाख एक हजारको राशिबाट साहित्यकार प्राडा कपिलदेव लामिछाने छन् । त्यस्तै, जनही ५१ हजारको राशिबाट पुरस्कृत एवं सम्मानित हुनेमा संस्कृतिविद् प्राडा सोमप्रसाद खतिवडा, पत्रकार युवराज घिमिरे, कलाकार श्रीमती मिथिला शर्मा बोहरा र समाजसेवी रमेशप्रसाद नेपाल छन् ।

कार्यक्रममा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति के के कर्माचार्यले समाज परिवर्तनमा योगदान दिने व्यक्तित्वलाई प्रतिष्ठानले सम्मान एवं पुरस्कृत गर्नु सुखद पक्ष रहेको बताए ।

उनले भने, ‘समाजमा विभिन्न विधामार्फत योगदान दिने स्रष्टालाई सम्मान एवं पुरस्कृत गरेर संस्थाले राम्रो काम गरेको छ ।’ पुरस्कृत एवं सम्मानित साहित्यकार प्राडा लामिछाने, संस्कृतिविद् प्राडा सोमप्रसाद खतिवडा र समाजसेवी नेपालले समाजमा रचनात्मक काम गर्ने स्रष्टालाई खोजी–खोजी पुरस्कृत एवं सम्मान गर्नुले आफूहरूलाई समाजमा काम गर्न थप उत्साह मिलेको धारणा व्यक्त गरे ।

प्रतिष्ठानका अध्यक्ष साहित्यकार गंगा सुवेदीले प्रतिष्ठानले आफ्नो स्थापना कालदेखि नै समाजमा विभिन्न विद्यामा काम गर्ने स्रष्टालाई सम्मान गर्न पाउँदा खुसी लागेको बताइन् । उनले भनिन्, ‘समाजका लागि योगदान दिनुहुने व्यक्तित्वलाई प्रतिष्ठानले हरेक वर्ष सम्मान एवं पुरस्कृत गर्दै आएको छ ।’

प्रतिष्ठानले हरेक महिनाको पहिलो शुक्रबार चेतना मासिक साहित्य कार्यक्रम, चेतना सन्देश त्रैमासिक साहित्यिक पत्रिकार प्रकाशन गर्नुका साथै अहिलेसम्ममा छ दर्जनभन्दा बढी प्रबुद्ध व्यक्तित्वलाई पुरस्कार एवं सम्मान प्रदान गरिसकेको सदस्य मीनकुमार नवोदितले जानकारी दिए ।

प्रतिक्रिया