ट्रम्पकी वरिष्ठ सल्लाहकारमाथि ‘हातपात’

वासिंगटन । ट्रम्पकी निकट सहयोगी तथा ह्वाइट हाउसकी सल्लाहकार केल्यान कन्वेले उनलाई आफ्ना छोरीकै सामुन्ने एक महिलाले दुव्र्यवहार गरेको बताएकी छन् ।

अमेरिकी सञ्चारमाध्यमहरूलाई उनले बताएअनुसार उक्त घटना वासिंगटन डिसीको बाहिरी भागमा रहेको एक रेस्टुराँमा गत अक्टोबरमा भएको थियो ।

कन्वेले भनिन् ‘ती महिलाले उनलाई पछाडिबाट समातेर झक्झक्याउँदै बेस्सरी समाएकी थिइन् ।’ ६३ वर्षीया मेरी एलिजाबेथ इनाबिनेटले भने त्यस्तो ‘हमला’ गरेको अस्वीकार गरेकी छन् । मार्च महिनामा उनी त्यससम्बन्धी मुद्दामा अदालतमा उपस्थित हुँदै छिन् ।

सिएनएनसँग कुरा गर्दै कन्वेले भनिन्, ‘ती महिला नियन्त्रणभन्दा बाहिर थिइन् । उनले गरेको व्यवहार म वर्णन गर्न पनि सक्दिनँ । उनको पूरै अनुहारमा मैले क्रोध र आतंक देखेँ ।’

त्यसपछि आफूले आपत्कालीन सेवा प्रदायकहरूलाई फोन गरेको तर प्रहरी आइपुगुञ्जेल ती महिला बेथेस्दामा रहेको सो मेक्सिकन रेस्टुराँबाट हिँडिसकेको कन्वेले बताइन् । आफ्नी किशोरी छोरीले उक्त घटनाको केही अंश मोबाइलमा रेकर्डसमेत गरेको कन्वेले बताइन् ।

तर, इनाबिनेटकी वकिलले एक विज्ञप्ति जारी गर्दै उनले कन्वेलाई हमला नगरेको बरू संविधान प्रदत्त अभिव्यक्तिको स्वतन्त्रता उपभोग गरेको जनाएका छन् । अदालतमा उनले आफू निर्दोष भएको जिकिर गर्दै ती वकिलले बताए ।

ट्रम्पका अधिकारीहरूमाथि पहिले पनि त्यस्तै घटना भएका थिए । जुन १९ मा होमल्यान्ड सेक्युरिटी मन्त्रीलाई एक रेस्टुराँमा नै केही अभियानकर्मीहरूले हातपात गरेका थिए ।

त्यतिखेर मेक्सिकोसँगको सिमानामा आप्रवासीका केही बालबालिकालाई अभिभावकसँग छुट्याइदिएको घटना उल्लेख गर्दै अभियानकर्मीहरूले उनलाई ‘ती बालबालिकाको रोदन सुन्न सक्दैनौँ’ भन्दै कराएका थिए ।

केही दिन पश्चात् ह्वाइट हाउसकी प्रेस अधिकारी स्यारा स्यान्डर्सलाई आप्रवासीकै विषयलाई लिएर एक रेस्टुराँबाट बाहिर जान केही मानिसले भनेका थिए ।

प्रतिक्रिया