सहकारीको अनुगमनमा कामपा

काठमाडौं । काठमाडौं महानगगरपालिकाले आफ्नो मातहतमा रहेका सहकारीको अनुगमनलाई तीव्रता दिएको छ । सहकारी मापदण्डबाहिर सञ्चालित हुने गरेको तथा ठगी गरेको भन्दै उजुरी बढेकाले अनुगमनलाई तीव्रता दिएको कामपाले जनाएको छ ।

महानगरमा १ हजार ८ सय ५६ सहकारी रहेका छन् भने ठगी गरेको भन्दै सहकारीविरुद्ध ६० वटा मुद्दा परेका थिए । जसमध्ये ३५ को फछ्र्योट गरिसकेको जनाएको छ । मुद्दामध्ये ४० भन्दा बढीले नागरिकको पैसा समयमा नै फिर्ता नगरेको पाइएको छ । सबै सहकारीलाई दैनिकरूपमा अनलाइनमार्फत आफ्नो जानकारी गराउन पनि कामपाले निर्देशन दिएको छ ।

आफ्नो सहकारी दैनिकरूपमा कति आर्थिक कारोवार गर्दछ, लगानी र संकलन भएको कति भन्ने विषयमा दैनिक जानकारी गराउनुपर्नेछ । बचत तथा ऋण सहकारी सञ्चालन गर्न १ सय सदस्य रहनुपर्ने, सञ्चालक सदस्यमध्ये ५० जनाले अनिवार्य रूपमा तालिम लिएको हुनुपर्ने, सदस्यमध्येकै ८० प्रतिशतले सहकारी सञ्चालन हुने क्षेत्रमा नै बसोवास गरेको हुनुपर्ने कानूनी प्रावधान छ ।

अनुगमन गर्दै मापदण्डबाहिर रही काम गर्दै आएका सहकारीलाई पहिलो चरणमा नियमबाहिर रही सञ्चालन भई पत्रचार गरिएकालाई कारबाहीको प्रक्रिया अघि बढाउने भएको छ । दोस्रो चरणमा अन्यलाई अनुगमन गरी आवश्यकताअनुरूप निर्देशन दिइने बताइएको छ । निर्देशन पालना नगरे कामपाको सहकारी ऐनअनुरूप कारवाहीको प्रक्रिया अघि बढाउने काठमाडौ महानगरपालिकाका सहकारी विभागिय प्रमुख नवराज ढकालले बताए । सबै सहकारी काठमाडौँ महानगरपालिका सहकारी ऐन २०७४ अनुसार सञ्चालन गरिनुपर्नेमा जोड दिएका छन् ।

कामपाका सहकारीमा करीब २ लाख सदस्य छन् भने आठ हजारले रोजगारी पाएका छन् । सबै सहकारीबाट करीब सात अर्ब शेयर, करीब ५२ अर्ब बचत परिचालन र ४१ अर्ब रूपैया बराबरको ऋण प्रवाह भएको ढकालले जानकारी दिए । सहकारी दर्ता हुनेक्रम दिनदिनै बढीरहेको उनको भनाइ छ ।

सहकारी विभाग प्रमुख ढकालले भने,‘आगामी दिनमा नयाँ सहकारीलाई सञ्चालनका लागि अनुमति दिनेभन्दा पनि सञ्चालनमा रहेकालाई नियमन र निर्देशन गरी राम्रो बनाउनेतर्फ हाम्रो जोड रहनेछ ।’ प्रमुख ढकालका अनुसार मापदण्ड बाहिर सञ्चालित साना सहकारी धेरै रहेकाले समस्या भएकोले तिनको सही व्यवस्थापन गर्न एकीकृत प्रणालीअनुरूप जान लागिएको हो । एक हजार ८ सय ५६ सहकारी घटाएर ७ सय बनाउने कामपाको लक्ष्य रहेको जनाइएको छ ।

सहकारी ऐन २०७४ र कामपाको सहकारी ऐन २०७४ अनुरूप कानूनीरूपमा नै एकीकृत गर्न सकिने व्यवस्था छ । सहकारीलाई एक बनाउन दुई सहकारी एकअर्कामा एकिकृत हुन तयार रहनुपर्छ । संवैधानिक व्यवस्थाअनुसार २०७५ साउन १ गतेदेखि देशका सबै डिभिजन सहकारी कार्यालय खारेजी भई सम्बन्धित स्थानीय तहले सहकारी नियमन गर्नुपर्ने व्यवस्थाअनुरूप कामपाले आफ्ना क्षेत्रभित्रका साना सहकारीलाई एकीकृत (मर्ज) गर्न लागेको हो ।

एकीकृत हुन चाहने दुईवटै सहकारीले कामपाको सहकारी विभागका निवेदन दिनुपर्छ । त्यसपछि कामपाले थप प्रक्रिया अघि बढाउने विभागका प्रमुख ढकालले राससलाई जानकारी दिए । सहकारी गाभ्न कामपाको चाहनाले मात्र नहुने हुँदा सञ्चालकले इच्छा राख्नुपर्दछ । समान प्रकृतिका सहकारी एकआपसमा गाभ्न सकिनेछ । कामपाका सहकारीमध्ये सबैभन्दा बढी बचत तथा ऋण सहकारी एक हजार ६ सय ४४, बहुद्देश्यीय १ सय ५६ र विषयगतअन्तर्गत उपभोक्ता, दुग्ध, कृषि, शिक्षा, सञ्चारलगायत सहकारी छन् ।

प्रतिक्रिया