ओली–दाहाल भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ । दुई नेताबीच सम्बन्ध चिसिएको समाचार आइरहेका बेला भेटवार्ता भएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार दिउँसो भएको भेटघाटमा पछिल्लो समय देखिएको असमझदारीको विषयमा दुवै अध्यक्षले खुलेर छलफल गरेका छन् । उनीहरूले बाहिर एकता भाँड्नका लागि विभिन्न हल्ला फिँजाएको भन्दै त्यसलाई चिर्दै जाने सहमति गरेका छन् ।

भेनेजुयलाको संकटका विषयमा दाहालले निकालेको विज्ञप्तिमा प्रचण्ड चिप्लिएको प्रधानमन्त्री ओलीले बताएपछि दुई नेताबीचको सम्बन्ध चिसिएको थियो । शुक्रबार मात्रै अध्यक्ष प्रचण्डले सरकारको कार्यशैलीप्रति घुमाउरो पारामा चर्को आलोचना गरेका थिए । विशेष गरी उनले संघीयता र शान्ति प्रक्रियाका विषयमा आपत्ति प्रकट गरेका छन् ।

शनिबारको भेटमा पछिल्लो समय देखिएको असमझदारी लम्बाउन नहुने विषयमा छलफल भएको थियो । ‘सञ्चार माध्यममा र टोल छिमेकमा हाम्रो सम्बन्ध बिग्रन थाल्यो भनेर चर्चा हुन थालेको छ, यसलाई लामो समय राख्न हुन्न, सम्बन्ध बिगार्न हुन्न’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै बालुवाटार स्रोतले भन्यो । प्रचण्डले सरकार र पार्टी सञ्चालनको विषयमा एकलौटी निर्णय भइरहेको भन्दै असन्तुष्टि राखेको बताइएको छ ।

प्रतिक्रिया