जोशीका नाममा पार्क र सडक

ललितपुर । ललितपुर महानगरपालिकाले शताब्दी वाङ्मय पुरुष तथा संस्कृतिविद् सत्यमोहन जोशीको नाममा सडक र पार्क बनाउने बनाउने निर्णय गरेको छ । शतवार्षिकीका अवसर पारेर उनको नाममा पार्क निर्माण र कुनै एक सडकको नाम ‘सत्यमोहन जोशी मार्ग’ नामाकरण गर्ने निर्णय गरेको महानगरपालिकाले जनाएको छ । जोशीको शतवार्षिकी मनाउन महानगरको वडा ३ का अध्यक्ष श्रीगोपाल महर्जनको अध्यक्षतामा बसेको समितिले हुलाक टिकट र स्वर्ण मुद्रा छपाइका लागि नेपाल राष्ट्र बैंकसँग कुराकानी गर्ने योजनासमेत बनाएको छ ।

महानगरपालिकाका नगरप्रमुख चिरीबाबु महर्जनले कुनै पनि क्षेत्रमा विशिष्ट योगदान पु¥याएका व्यक्तिलाई जीवित छँदै सम्मान गर्दा व्यक्ति स्वयंले महसुस गर्न पाउने बताए । जोशीले महानगर मात्रै नभएर देशको कला र संस्कृतिको संरक्षणमा पु¥याएको योगदान अतुलनीय रहेको उनले जनाए । उनले भने, ‘यो उमेरसम्म पनि उहाँले निरन्तर देश र देशवासीका लागि गर्नुभएको योगदानको हामीले सम्मान गर्नै पर्छ ।’
महानगरपालिकाका उपप्रमुख गीता सत्यालले जोशीजस्ता विशिष्ट व्यक्तिलाई सम्मान गर्न पाउनु महानगरपालिकाका लागि गर्वको विषय भएको जिकिर गरिन् । उनले जोशीले मूर्त र अमूर्त संस्कृतिको संरक्षणमा पु¥याएको योगदानको चर्चा गरिन् ।

संस्कृतिविद् जोशीको आगामी वैशाख ३० गते ९९ वर्ष पूरा भई १०० वर्षमा प्रवेश गर्दै छन् । संस्कृतिविद् जोशीको सयौँ वार्षिकोत्सव मनाउन गठित समितिको पहिलो बैठक शुक्रबार ललितपुरमा सम्पन्न भएको छ । यस अवसरमा वर्षभरि नै सांस्कृतिक महोत्सव, खेलकूद, कला प्रदर्शनी विभिन्न प्रतियोगिता आयोजना गर्ने तयारीसमेत महानगरले गरेको छ । जोशीको नाममा प्रतिष्ठान स्थापना गर्न जग्गाको खोजीसमेत भइरहेको महानगरपालिकाले जनाएको छ ।

ललितपुर महानगरपालिकाको दोस्रो नगरसभाले शताब्दी पुरुष जोशीको शतवार्षिकी मनाउन मनाउन महानगरका प्रमुख चिरीबाबु महर्जनको संयोजकत्वमा एक सय ११ सदस्यीय समिति गठन गरेको छ । समितिमा राष्ट्रियसभाका सांसद, प्रतिनिधिसभाका सांसद, छिमेकी नगरपालिकाका प्रमुखलगायत सदस्य छन् । महानगरले संस्कृतिविद् जोशीको सयौँं जन्मोत्सवलाई वर्षभरि नै विभिन्न कार्यक्रम आयोजना गरेर मनाउने तयारी गरेको छ । महानगरपालिकाले गत वर्ष उनलाई सवारीसाधन, मोबाइल फोन, सुरक्षा गार्ड लगायतको सेवा उपलब्ध गराएको थियो ।

प्रतिक्रिया