इन्स्टाग्राममा नयाँ फिचर, आपत्तिजनक सामग्रीमा पर्दा लाग्ने

एजेन्सी, वासिंगटन । इन्स्टाग्रामले आत्मघाती, भड्काउ तथा आपत्तिजनक सामग्रीहरूलाई नाबालिक प्रयोगकर्ताको नजरमा पर्नबाट रोक्नका लागि नयाँ फिचर ल्याएको छ । उक्तः फिचरको नाम सेन्सेटिभिटी स्क्रिन हो । उक्त फिचरले आपत्तिजनक तस्बिर तथा भिडियो थम्बनेल्सलाई ब्लर गर्नेछ । प्रयोगकर्ताले त्यसमा क्लिक गरेपछि मात्र ती तस्बिर तथा भिडियो देखिनेछन् ।

यस फिचर सुरु भएसँगै अब आफैलाई चोट पु¥याउने तथा आत्महत्या गर्ने उपाय सिकाउने सम्बन्धी ह्यासट्याग, तस्बिर तथा अकाउन्ट रेकोमेन्डेसन सबै ब्लक हुनेछन् । इन्स्टाग्रामका प्रमुख एडम मुसेरीले सेन्सेटिभ स्क्रिन फिचरको घोषणा गर्दै वेलायती पत्रिका द टेलिग्राफमा दिएको अन्तर्वार्तामा एकजना बेलायती एक किशोरीको आत्महत्याका तस्बिर इन्स्टाग्राममा सार्वजनिक भएको घटनापछि आफूहरूलाई त्यस्तो फिचर थप गर्ने विषयमा आइडिया प्राप्त भएको बताएका छन् ।

ती किशोरीले इन्स्टाग्राममा रहेका आत्महत्यालाई उक्साउने खालका विभिन्न अकाउन्टहरूबाट तरिका सिकेर आफूले आत्महत्या गरेकी थिइन् । उनका अभिभावकहरूले ती उनका आत्महत्यासँग सम्बन्धित तस्बिरहरू इन्स्टाग्राममा देखिएका भन्दै आलोचना गरेका थिए । स्मरण रहोस् गत हप्ता मात्र वेलायती स्वास्थ्य मन्त्रीले फेसबुक, ट्वीटर तथा इन्स्टाग्रामलाई यस्ता आपत्तिजनक तस्बिर लुकाउने व्यवस्था गर्न वा अन्यथा कारबाहीको सामना गर्न चेतावनी दिएका थिए ।

प्रतिक्रिया