राजकुमारीको पनि उम्मेद्वारी घोषणा

एजेन्सी, बैंकक । आगामी मार्च महिनामा हुने आम चुनावमा थाई राजकुमारीले प्रधानमन्त्री पदका लागि उम्मेद्वारी दिने घोषणा गरेकी छन् । थाइल्यान्डको आधुनिक इतिहासमा राजपरिवारका कुनै सदस्यले मुख्य राजनीतिक भूमिकामा दाबी गरेको यो पहिलो घटना हो ।  थाइल्यान्डका राजा माहा वाजिरालोङकोर्नकी ठूली दिदी ६७ वर्षीया राजकुमारी उबोलरतनाले थाई रक्षा चार्ट पार्टीका तर्फबाट उम्मेद्वारी दिएको घोषणा गरेकी हुन् । थाई राजतन्त्रलाई परम्परागत रूपमा राजनीतिक प्रतिस्पर्धाभन्दा माथि पवित्र संस्थाका रूपमा हेर्ने गरिन्छ ।

थाइल्यान्डको कडा कानुनी व्यवस्थाका कारण राजतन्त्रविरुद्ध आलोचना गर्न पनि पाइन्न । राजतन्त्रले मुलुकमा राजनीतिक संकट उत्पन्न भएका बखत हस्तक्षेप गर्ने गरेको छ । उबोलरत्नाको उम्मेद्वारीले मार्च २४ तारिखको चुनावमा नयाँ तरङ नै ल्याइदिएको छ । खासगरी, पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राको राजनीतिक प्रभावका कारण राजकुमारीले उम्मेद्वारी दिएको बताइन्छ ।

थाइल्यान्डमा थाक्सिन समर्थक ‘राता’ टिसर्टधारी र राजावादी ‘पहेँला’ टिसर्टधारीबीच परम्परागत दुश्मनी रहँदै आएकामा राजकुमारीको उम्मेद्वारीले दुवैलाई एक ठाउँमा ल्याउने सम्भावना बढेको छ । यी दुई समूहबीचको डरलाग्दो हिंसाले गत दशकमा थाइल्यान्डको राजनीतिलाई अस्थिर बनाएको थियो ।

‘राजकुमारी उबोलरत्नाको छनोट सबैभन्दा उपयुक्त रहेकामा बोर्ड पूर्ण रूपमा सहमत छ,’ थाई रक्षा चार्ट पार्टीका नेता प्रिचापोल पोङपानिचले संवाददातालाई बताए । उनका अनुसार राजकुमारी निकै शिक्षित र सिपालु छन् ।  यो पार्टी अर्बपति थाई नेता थाक्सिन सिनावात्राको प्रभावमा रहेको मानिन्छ । उनी थाइल्यान्डको राजनीतिमा निकै प्रभावशाली व्यक्ति हुन् । उनलाई थाइल्यान्डको सेना र बैंककस्थित माथिल्लो धनाढ्य वर्गले नरुचाए पनि ग्रामीण क्षेत्रका गरिब परिवारले अत्यन्त सम्मान गर्दछन् ।

राजकुमारीको उम्मेद्वारी घोषणासँगै थाक्सिनलाई थाइल्यान्डको राजनीतिक नाटकको केन्द्रमा उभ्याएको छ । उनलाई सन् २००६ मा सैनिकले गरेको सत्ताविद्रोहबाट पदच्युत गरिएको थियो । तर, सन् २०१४ मा उनकी बहिनी यिङ्लुकको सत्तामा पुनरागमन भएको थियो । अन्ततः उनलाई पनि भ्रष्टाचारको आरोपमा जेल सजाय दिएर सत्ताच्युत गरिएको थियो ।

राजकुमारीको कदमले सैनिक नेता प्रयुत चान–ओ–चाको राजनीतिक इच्छामा निकै ठूलो प्रहार गरेको छ । आफूलाई यस पटकको चुनावमार्फत नागरिक नेताका रूपमा स्थापित गर्न इच्छुक थिए । उनी विगत पाँच वर्षदेखि थाइल्यान्डको सत्तामा छन् ।  यही राजनीतिक उहापोहबीच प्रयुतले पनि प्रधानमन्त्री पदका लागि उम्मेद्वारी दिएको घोषणा गरेका छन् । उनी फालाङ प्रचारत सैनिक पार्टीबाट उम्मेद्वार भएका छन् । ‘म शक्तिमा झुण्डिइरहन चाहन्नँ । यो निर्णय लिन मलाई निकै कठिन भइरहेको थियो, तर अहिले मुलुकका निम्ति गम्भीर अवस्था छ’, उनले भनेका छन् ।

प्रयुत मातहतको सैनिकले आफूलाई राजतन्त्रको संरक्षकका रूपमा उभ्याएको थियो । तर, उबोलरत्नाको राजनीतिमा भएको आकस्मिक आगमनले प्रयुतमाथि नै संकट निम्त्याएको छ । आम सर्वसाधारणसँग घुलमिल हुन अभिरुचि राख्ने उबोलरत्नाले सन् १९७२ मा अमेरिकी नागरिक पिटर जेन्सेनसँग विवाह गरेपछि राजपदवी तयागेकी थिइन् ।

तर, जेन्सेनसँग उनको सम्बन्धविच्छेद भइसकेको छ । त्यसपछि उनी थाइल्यान्ड फर्किएकी थिइन् । थाइल्यान्ड फर्किएपछि पनि उनलाई राजपरिवारकै सम्मानित सदस्यका रूपमा लिने गरिएको थियो । थाइल्यान्डमा सन् १९३२ मा संवैधानिक राजतन्त्रको व्यवस्था भएयता प्रधानमन्त्रीका रूपमा कुनै पनि राजसंस्थाका व्यक्ति प्रधानमन्त्रीमा नियुक्त भएका छैनन् ।  उनलाई रुसमा सम्पन्न सन् २०१८ को विश्वकपका समयमा थाक्सिन र यिङ्लकसँगै देखिएको थियो ।

प्रतिक्रिया